काठमाडौं । नेपाली फिल्मका उदयमान कलाकार अमरप्रताप श्रेष्ठ दुई वर्षको कठोर प्रशिक्षणपछि फिल्म ‘द राइज अफ साम्राज्य’मा मुख्य अभिनेताका रूपमा भित्रिएका छन् । केही नाटक तथा ‘मोदीबेनी’ फिल्ममा अभिनय गरिसकेका अमरप्रताप पछिल्लो दुई वर्षदेखि अभिनय, फिटनेस र एक्सनको प्रशिक्षणमा व्यस्त थिए ।
उनको यही मिहिनेत अब फिल्मी पर्दामा देखिने भएको छ । मंगलबार निर्देशक सौरभ चौधरीले अमरप्रतापलाई फिल्मको मुख्य अभिनेताका रूपमा चिनाउँदै सामाजिक सञ्जालमार्फत उनको अनुबन्धबारे जानकारी दिएका हुन् ।
निर्देशक चौधरीले दुई वर्षदेखि आफ्नो निगरानीमा एक योद्धा तयार हुँदै आएको उल्लेख गरेका छन् । एक्सन, फिटनेस र अभिनयमा हरेक दिनको कठोर प्रशिक्षण, पसिना र मिहिनेतपछि अमरप्रताप पूर्ण रूपमा तयार भएको उनको भनाइ छ ।
फिल्म ‘द राइज अफ साम्राज्य’को छायांकन असोज ४ गते पूर्वको कोशी ब्यारेकबाट सुरु हुँदैछ । फिल्ममा यसअघि नै सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल र अञ्जना बराइली अनुबन्धित भइसकेका छन् । अमरप्रतापको प्रवेशसँगै फिल्मको कलाकार लाइनअप थप बलियो बनेको निर्माण पक्षको दाबी छ ।
यही साता फिल्मका अर्का मुख्य अभिनेतालाई पनि सार्वजनिक गर्ने तयारी भइरहेको जनाइएको छ । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा तथा पटकथा ‘कर्नाली ब्लुज’का लेखक बुद्धिसागरले तयार पारेका हुन् । फिल्मका निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन् भने सह-निर्मातामा विश्वास बस्नेत ९बेन० र कार्यकारी निर्मातामा शंकर पाण्डे छन् ।
मानकृष्ण महर्जनले छायांकन निर्देशन गर्ने फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहनेछ । लामो प्रशिक्षणपछि मुख्य भूमिकामा देखिन लागेका अमरप्रतापको अभिनय र एक्सनले दर्शकको ध्यान तान्ने अपेक्षा गरिएको छ ।