काठमाडौं । जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली जुडो टोलीलाई इप्पोन गियरले खेल पोसाक प्रायोजन गरेको छ । नेपाल जुडो संघको समन्वयमा इप्पोनले नेपाली जुडो खेलाडी तथा प्रशिक्षकका लागि अन्तर्राष्ट्रिय स्तरको खेल पोसाक उपलब्ध गराएको हो ।
नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, उपाध्यक्ष रमेश महर्जन, जुडोका मुख्य प्रशिक्षक वीरेन्द्र रञ्जित तथा संघका पूर्वमहासचिव एवं टेक्निकल डाइरेक्टर धर्मकुमार श्रेष्ठले सोमबार खेल पोसाक हस्तान्तरण गरेका हुन् । टेक्निकल डाइरेक्टर धर्मकुमार श्रेष्ठको समन्वय तथा विश्व जुडो च्याम्पियनसिपकी कांस्य पदक विजेता अस्ट्रियाकी ओलम्पियन सब्रिना फिल्जमोसरको पहलमा इप्पोनले अन्तर्राष्ट्रिय जुडो महासंघ अर्थात् आईजेएफबाट मान्यता प्राप्त खेल पोसाक प्रायोजन गरेको हो ।
प्रायोजनअन्तर्गत एसियाडमा सहभागी हुने ६ खेलाडी र १ प्रशिक्षकसहित ७ जना तथा अन्य ३ खेलाडी र १ प्रशिक्षकसहित ४ गरी जम्मा ११ जनालाई समान २-२ थान खेल पोसाक प्रदान गरिएको छ । उक्त खेल पोसाकको कुल मूल्य करसहित १२ लाख ३२ हजार रुपैयाँ बराबर रहेको नेपाल जुडो संघले जनाएको छ ।
जापानको आइची-नायोगमा असोज ३ गतेदेखि १८ गतेसम्म आयोजना हुने २०औँ एसियाली खेलकुदअन्तर्गत जुडोमा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालको प्रतिनिधित्व गर्ने खेलाडीमा विकास विक, विशेष विका, सुजन गुरुङ, निशा श्रेष्ठ, देवकीमाया श्रेष्ठ र पुनम श्रेष्ठ रहेका छन् । टोलीको प्रशिक्षकमा सुनिता मगर ताम्राकार रहेकी छन् । नेपाली जुडो टोली सेप्टेम्बर २६ तारिख जापान प्रस्थान गर्ने तालिका रहेको छ ।
यसैगरी, प्रायोजित खेल पोसाक प्राप्त गर्ने अन्य खेलाडीमा प्रमोद मण्डल, योगेन्द्र विष्ट र विनिता मगर रहेका छन् । प्रशिक्षकमा मोहन सुनुवार रहेका छन् । अन्तर्राष्ट्रिय स्तरको खेल पोसाक प्रायोजनले नेपाली जुडो खेलाडीलाई एसियाली खेलकुदमा थप आत्मविश्वासका साथ प्रतिस्पर्धा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।