काठमाडौं । नेपाली फिल्म ‘बास् एक योद्धा’को नयाँ प्रदर्शन मिति तय भएको छ। भोटेकोशी बाढीका कारण पूर्वनिर्धारित प्रदर्शन रोकिएको फिल्म अब असोज ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको हो।
कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको अवसर पारेर निर्माण टिमले फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरेको हो। यसअघि बाढी प्रभावितका लागि दुई लाख रुपैयाँ सहयोग गर्दै फिल्मको प्रदर्शन पछि सारिएको थियो। निर्माता वसन्त लम्सालका अनुसार वितरक तथा प्रदर्शकसँगको छलफलपछि असोज ९ गतेलाई नयाँ प्रदर्शन मिति तय गरिएको हो।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय छ। फिचर फिल्मतर्फ हरि लम्सालको यो पहिलो निर्देशन हो। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्मका निर्माता वसन्त लम्साल, कार्यकारी निर्माता अनिल बुढाथोकी र सह–निर्माता कृष्ण काफ्ले हुन्।
शिवराम श्रेष्ठको छायांकन र मित्र डि। गुरुङको सम्पादन रहेको फिल्मको वितरण कुवेर सिने डिस्ट्रिब्युसनले गर्नेछ।नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीलाई फिल्मको मुख्य कथावस्तु बनाइएको छ।
तीन फिल्मबीच प्रतिस्पर्धा
असोज ९ गतेदेखि ‘बास् एक योद्धा’सँगै ‘आचार्य’ र ‘जदौ’ पनि प्रदर्शनमा आउने भएकाले नेपाली फिल्म क्षेत्रमा तीन फिल्मबीच प्रतिस्पर्धा हुने भएको छ।
निखिल उप्रेतीको अभिनय तथा निर्देशन रहेको ‘आचार्य’ एक्सन-ड्रामा जनराको फिल्म हो। फिल्ममा निखिल उप्रेतीसँगै पूर्णिका सिजापति, दीप राज राणा, प्रमोद अग्रहरी, रघुबाबु र रघु करूमान्चीलगायत कलाकारको अभिनय छ।
त्यस्तै, ‘जदौ’ प्रेम, जातीय भेदभाव र पारिवारिक द्वन्द्वलाई केन्द्रमा राखिएको फ्यामिली ड्रामा हो। फिल्ममा ऋचा शर्मा, मुकुन भुसाल, नीति शाह र प्रभातपाल ठकुरी मुख्य भूमिकामा छन्।
एकै दिन तीन फिल्म प्रदर्शनमा आउने भएपछि दर्शकको रोजाइ र बक्स अफिसमा कुन फिल्मले बाजी मार्छ भन्ने चासो बढेको छ।