काठमाडौं । मलेसियामा जारी एसिसी प्रिमियर कपमा नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली इतिहास दोहोर्याउने लक्ष्यसहित उपाधिका लागि मैदानमा उत्रिँदैछ।
शनिबार हुने फाइनलमा नेपालले युनाइटेड अरब इमिरेट्स अर्थात् युएईसँग प्रतिस्पर्धा गर्दैछ। फाइनल जित्न सके नेपाल लगातार दोस्रो पटक एकदिवसीय प्रारूपको एसिसी प्रिमियर कपको उपाधि जित्ने पहिलो टोली बन्नेछ। नेपालले सन् २०२३ मा घरेलु मैदानमा आयोजना भएको ५० ओभरको प्रिमियर कपको उपाधि जितेको थियो। त्यतिबेला फाइनलमा युएईलाई सात विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो। अब तीन वर्षपछि फेरि उही प्रतिद्वन्द्वीविरुद्ध नेपालसँग इतिहास दोहोर्याउने अवसर छ।
सन् २०२४ को दोस्रो संस्करण भने टी-२० प्रारूपमा आयोजना भएको थियो। ओमानमा भएको उक्त प्रतियोगितामा नेपाल सेमिफाइनलसम्म पुगे पनि चौथो स्थानमा सीमित भएको थियो। युएईले ओमानलाई पराजित गर्दै उपाधि जितेको थियो। यसपटक भने नेपालले प्रतियोगितामा शानदार पुनरागमन गरेको छ। समूह चरणमा हङकङबाहेकका तीन खेलमा प्रभावशाली जित निकालेको नेपालले सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको ओमान केवल ६० रनमै समेटिएको थियो। नेपालको बलिङ आक्रमणले प्रतियोगिताभर देखाएको प्रभाव फाइनलमा पनि निर्णायक बन्न सक्ने अपेक्षा गरिएको छ। यता, युएई पनि उत्कृष्ट लयमा छ। उसले समूह चरणका चारवटै खेलमा शानदार जित निकालेको थियो। सेमिफाइनलमा हङकङलाई सात विकेटले पराजित गर्दै युएईले नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो।
फाइनलअघि नेपालको मुख्य चुनौती भनेको बलिङसँगै शीर्षक्रमको ब्याटिङलाई लयमा ल्याउनु हुनेछ। पूर्व राष्ट्रिय क्रिकेटर दीपेन्द्र चौधरीका अनुसार फाइनल हुने मैदान र पिचको अवस्थाले पनि खेलको नतिजामा महत्वपूर्ण प्रभाव पार्न सक्छ। स्पिनलाई साथ दिने पिचमा खेल भए नेपालको जित्ने सम्भावना अझ बलियो हुने उनको विश्लेषण छ। तर उपाधि जित्न नेपालका ओपनिङ तथा शीर्षक्रमका ब्याटरले ठूलो साझेदारी गर्नुपर्ने उनको भनाइ छ।
नेपाल र युएईबीचको एकदिवसीय अन्तर्राष्ट्रिय इतिहास हेर्दा पनि नेपाल केही अगाडि छ। दुई टोलीबीच हालसम्म भएका १९ खेलमध्ये नेपालले ११ खेल जितेको छ भने युएईले आठ खेलमा बाजी मारेको छ। पछिल्ला पाँच एकदिवसीय खेलमध्ये नेपालले तीन खेलमा जित निकालेको छ। गत मे महिनामा भएको आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले युएईलाई छ रनले पराजित गरेको थियो। सोही शृङ्खलाको अर्को खेलमा नेपालले युएईलाई ३७ रनले हराएको थियो।
अब नेपाल त्यही आत्मविश्वासलाई मलेसियाको फाइनलमा पनि निरन्तरता दिने योजनामा छ। एकातर्फ तीन वर्षअघिको उपाधि इतिहास दोहोर्याउने अवसर, अर्कोतर्फ लगातार दोस्रो एकदिवसीय प्रिमियर कप उपाधि जित्दै नयाँ इतिहास बनाउने लक्ष्य नेपालका लागि शनिबारको फाइनल केवल उपाधिको खेल मात्र नभई ऐतिहासिक उपलब्धिको अवसर पनि बनेको छ।