काठमाडौं । अभिनेत्री निरूता सिंह करिब आठ वर्षपछि नेपाली चलचित्रको पर्दामा फर्किने भएकी छन्। उनको अभिनय रहेको चलचित्र ‘सारथी’को फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ।
कुमार गजुरेलको निर्देशनमा बनेको चलचित्र ‘सारथी’ आगामी मंसिर ११ गते अर्थात् नोभेम्बर २७ देखि देशभरका हलमा प्रदर्शनमा आउने भएको हो। चलचित्रको पोस्टर सार्वजनिक गर्दै निरूताले आफ्नो पुनरागमनलाई केवल फिल्ममा फर्किने अवसरका रूपमा नभई नयाँ पात्र र नयाँ यात्राको सुरुवातका रूपमा व्याख्या गरेकी छन्। यसअघि निर्वाह गरेका भूमिकाभन्दा बिल्कुलै फरक चरित्रमा प्रस्तुत हुन पाउँदा आफू आकर्षित भएको उनले बताएकी छन्।
‘यो पात्रलाई अभिनय गर्नु मेरो लागि सहज थिएन, तर यही असहजताभित्र मैले कलाकारका रूपमा आफूलाई फेरि खोज्ने अवसर पाएँ,’ निरूताले सामाजिक सञ्जालमा लेखेकी छन्। करिब आठ वर्ष चलचित्र क्षेत्रबाट टाढा रहे पनि चलचित्र भने आफ्नो मनबाट कहिल्यै टाढा नभएको उनको भनाइ छ। दर्शकले दिएको माया, सम्झना र निरन्तरको आत्मीयताले आफूलाई पुनः पर्दामा फर्किन ऊर्जा दिएको उनले उल्लेख गरेकी छन्।
‘आठ वर्षपछि म फर्किएकी छु। तर यसपटक केवल निरूता सिंह भएर होइन। एउटा नयाँ पात्रको कथा बोकेर। ‘सारथी’ मेरो लागि पुनरागमनभन्दा धेरै, एउटा नयाँ यात्रा हो,’ उनले भनेकी छन्। ‘सारथी’को सार्वजनिक पोस्टरमा निरूता काखमा दुधे बालक बोकेर गम्भीर मुद्रामा देखिएकी छन्। उनको खुट्टाको पैतालाबाट रगत चुहिरहेको दृश्यले चलचित्रको कथा गम्भीर र संवेदनशील विषयमा आधारित हुनसक्ने संकेत गरेको छ।
निरूताको पछिल्लो चलचित्र ‘दाल भात तरकारी’ हो, जुन २०७६ सालको वैशाखमा प्रदर्शनमा आएको थियो। त्यसयता उनी चलचित्रको पर्दाबाट टाढा रहँदै आएकी थिइन्। ‘सारथी’मा निरूतासँगै उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकारको अभिनय रहेको छ।
म्याग्दीको गुर्जा क्षेत्रमा छायांकन गरिएको चलचित्र किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको हो। रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको चलचित्रमा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता तथा अमीर केसी लाइन प्रोड्युसर छन्।
चलचित्रको छायांकन संकल्प भुजेलले गरेका हुन् भने वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ। आठ वर्षपछि पर्दामा फर्किन लागेकी निरूताको नयाँ भूमिका र ‘सारथी’को कथा दर्शकका लागि कस्तो हुनेछ भन्ने चासो भने अहिले नै बढेको छ।