काठमाडौं । नेपाल ‘ए’ पुरुष राष्ट्रिय क्रिकेट टोलीले अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा आज पहिलो खेल खेल्दैछ । नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी (एनटी) स्ट्राइकको सामना गर्न लागेको हो ।
डार्विनस्थित डीएक्ससी एरिना, मरारा क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ । यो नेपाल ‘ए’को प्रतियोगितामा पहिलो खेल हो । नेपाल ‘ए’ले टप एन्ड टी-२० मा उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणमा स्थान बनाउने लक्ष्य राखेको छ । प्रतियोगितामा नेपालले एनटी स्ट्राइकपछि बंगलादेशको हाई पर्फर्मेन्स टोली, होबार्ट हरिकेन्स एकेडेमी, एसीटी कमेट्स, हाइड्राबाद किङ्समेन एकेडेमी र भिक्टोरियासँग खेल्ने तालिका छ ।
सिनियर टोलीका खेलाडीको साथ
प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सिनियर राष्ट्रिय टोलीमा खेलिसकेका केही अनुभवी खेलाडीलाई समेत ‘ए’ टोलीमा समावेश गरेको छ । कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बमलगायत खेलाडी टोलीमा छन् । टोलीको कप्तानी अनिलकुमार साहले गर्नेछन् ।
अनुभवी तथा युवा खेलाडीको मिश्रण रहेको नेपाल ‘ए’का लागि अष्ट्रेलियाको मैदानमा आफ्नो क्षमता प्रदर्शन गर्ने यो महत्वपूर्ण अवसरसमेत हो ।
अघिल्लो हारको बदला लिने अवसर
नेपाल र एनटी स्ट्राइकबीच यसअघि टप एन्ड टी-२० मा एकपटक प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा एनटी स्ट्राइकले नेपाललाई ४२ रनले पराजित गरेको थियो । यसपटक नेपाल ‘ए’सँग घरेलु टोलीविरुद्ध सुधारिएको प्रदर्शन गर्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने अवसर छ ।
यसपटकको टप एन्ड टी-२० प्रतियोगिता अगस्ट २१ देखि ३० सम्म डार्विनमा सञ्चालन हुँदैछ । नेपालले पहिलो खेलमै घरेलु टोलीको चुनौती सामना गर्न लागेकाले सुरुवाती खेलको नतिजाले प्रतियोगितामा उसको यात्राको दिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।