काठमाडौँ । नेपाली क्रिकेट अहिले कठिन मोडमा पुगेको छ। एकातिर पहिलोपटक एकदिवसीय विश्वकप खेल्ने नेपालको सपना चुनौतीमा परेको छ भने अर्कोतर्फ सन् २०१८ मा प्राप्त एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने दबाब पनि बढेको छ। यही कठिन परिस्थितिमा नेपाली टोलीको नेतृत्व गर्ने जिम्मेवारी पुनः लेग स्पिनर सन्दीप लामिछानेको काँधमा आएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेललाई हटाउँदै सन्दीपलाई एकदिवसीय टोलीको कप्तान बनाएको हो। यो सन्दीपको कप्तानीको दोस्रो ‘इनिङ्स’ हो। यसअघि २१ वर्षको उमेरमै कप्तान बनेका सन्दीपले चार वर्षपछि पुनः राष्ट्रिय टोलीको नेतृत्व सम्हाल्न लागेका हुन्। सन्दीपको दोस्रो कप्तानीको पहिलो ठूलो परीक्षा आगामी अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म मलेसियामा हुने एसीसी प्रिमियर कप हुनेछ। सन् २०२७ को एसिया कप छनोटको आधार रहेको यो प्रतियोगितामा नेपाल समूह ‘ए’मा बहराइन, हङकङ, मलेसिया र साउदी अरेबियासँगै छ।
प्रिमियर कपको विजेताले सन् २०२७ मा बंगलादेशमा हुने एसिया कप खेल्ने अवसर पाउनेछ। भारत, पाकिस्तान, श्रीलंकाजस्ता टेस्ट राष्ट्रसँग खेल्ने अवसर नेपालका लागि ठूलो उपलब्धि हुने भएकाले सन्दीपको कप्तानीमा नेपाली टोलीमाथि प्रतियोगिता जित्ने दबाब पनि उत्तिकै रहनेछ। प्रिमियर कपपछि सन्दीपको अर्को ठूलो चुनौती आईसीसी विश्वकप लिग-२ हुनेछ। नेपालले आगामी अक्टोबर ९ देखि १९ सम्म ओमानमा आयोजक ओमान र क्यानडासँग दुई-दुई खेल खेल्नेछ। जारी लिग-२ मा नेपालको अवस्था भने निकै कमजोर छ।
नेपाल ३२ खेलबाट २४ अंक जोड्दै तालिकाको सातौँ स्थानमा छ। २८ खेलबाट ३१ अंकसहित ओमान चौथो स्थानमा रहँदा नामिबिया ३२ खेलबाट २८ र क्यानडा ३२ खेलबाट २५ अंकसहित क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन्। लिग-२ को शीर्ष चार टोली विश्वकपको अन्तिम छनोटमा पुग्नेछन् भने बाँकी टोलीले ग्लोबल क्वालिफायरमा स्थान बनाउन प्ले-अफ खेल्नुपर्नेछ। नेपालले सिधै ग्लोबल छनोटमा पुग्न बाँकी सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने मात्र होइन, अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने अवस्था छ।
त्यसैले ओमानमा हुने अन्तिम शृंखला नेपालका लागि निर्णायक बन्नेछ। नेपालले यहाँ राम्रो प्रदर्शन गर्न नसके एकदिवसीय विश्वकपको सपना अझ टाढा पुग्नेछ। साथै, एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन पनि नेपालको प्रदर्शन महत्वपूर्ण हुनेछ। तर, चुनौती अंकतालिकामा मात्र छैन। नेपाली टोलीको ब्याटिङ लामो समयदेखि मुख्य समस्या बन्दै आएको छ। पछिल्लो लिग-२ शृंखलामा नेदरल्यान्ड्ससँग खेलेका चारवटै खेलमा कमजोर ब्याटिङका कारण नेपाल पराजित भएको थियो। विदेशी भूमिमा लगातार आठ खेलमा जित निकाल्न नसकेको नेपालले पहिले ब्याटिङ गर्दा प्रतिस्पर्धात्मक लक्ष्य बनाउन र लक्ष्य पछ्याउँदा अन्तिमसम्म टिक्न संघर्ष गर्दै आएको छ।
कप्तान सन्दीप आफैँको पछिल्लो प्रदर्शन पनि अपेक्षाअनुसार प्रभावकारी हुन सकेको छैन। नेदरल्यान्ड्समा भएको पछिल्लो लिग-२ शृंखलाका सुरुआती तीन खेलमा उनले विकेट लिन सकेनन् भने चौथो खेलमा प्लेइङ-११ मै परेनन्। त्यसैले कप्तानीसँगै व्यक्तिगत प्रदर्शन सुधार्नु पनि सन्दीपका लागि महत्वपूर्ण चुनौती हुनेछ। त्यसमाथि अनुभवी खेलाडी र नयाँ प्रतिभाबीच राम्रो तालमेल मिलाएर टोलीलाई नतिजामुखी बनाउनु पनि उनको जिम्मेवारी हुनेछ। टोलीमा पूर्वकप्तान रोहितकुमार पौडेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसीलगायतका अनुभवी तथा युवा खेलाडी छन्।
सन्दीपका लागि भने अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव ठूलो बलियो पक्ष हो। उनी आईपीएल, बिग बास लिग, क्यारेबियन प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिगलगायत विश्वका चर्चित फ्रेन्चाइज प्रतियोगिता खेलिसकेका छन्। एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय दुवै ढाँचामा सय विकेट पूरा गर्ने पहिलो नेपाली बलरसमेत सन्दीप हुन्। यसअघि पहिलो कप्तानी ‘इनिङ्स’मा सन्दीपले १४ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालको नेतृत्व गरेका थिए। तीमध्ये नेपालले चार खेल जित्दा नौ खेलमा पराजय बेहोरेको थियो भने एक खेल बराबरीमा सकिएको थियो।
अब भने सन्दीपसामु विगतको त्यो तथ्यांक सुधार्ने मात्र होइन, नेपाली क्रिकेटलाई कठिन मोडबाट बाहिर निकाल्ने ठूलो जिम्मेवारी छ। एसिया कपको टिकटदेखि विश्वकप छनोटसम्मको यात्रा सहज छैन। त्यसैले नयाँ कप्तानको दोस्रो ‘इनिङ्स’ नेपाली क्रिकेटका लागि कति सफल हुन्छ भन्ने कुरा आगामी केही महिनाका निर्णायक खेलहरूले तय गर्नेछन्।
सन्दीपले चुनौतीको यो चाङ फुकाउँदै नेपाललाई एसिया कप हुँदै पहिलोपटक एकदिवसीय विश्वकपको मञ्चसम्म पुर्याउन सक्लान्रु नेपाली क्रिकेट समर्थकको नजर अब यही प्रश्नमा केन्द्रित हुनेछ।