काठमाडौं । दक्षिण भारतीय फिल्मका सुपरस्टार अल्लु अर्जुन र बलिउड अभिनेत्री दीपिका पादुकोणको मुख्य भूमिका रहने बहुप्रतीक्षित फिल्म ‘राका’मा हलिउड स्टार विल स्मिथको इन्ट्री हुने चर्चा सुरु भएको छ । तमिल निर्देशक एटलीको निर्देशनमा बन्न लागेको साइन्स फिक्शन फिल्ममा ओस्कर विजेता अभिनेता स्मिथलाई महत्वपूर्ण भूमिकामा अनुबन्ध गरिएको खबर सार्वजनिक भएको हो ।
निर्माण पक्षसँग नजिक रहेको स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले विल स्मिथ फिल्मको आगामी शेड्युलबाट छायाङ्कनमा सहभागी हुने तयारीमा रहेको जनाएका छन् । स्मिथसँग फिल्मका लागि निर्माण पक्षले सन् २०२५ मै प्रारम्भिक छलफल थालेको थियो । करिब एक वर्षको कुराकानीपछि उनी फिल्ममा काम गर्न तयार भएको बताइएको छ ।
‘राका’मा विल स्मिथले कुन भूमिका निर्वाह गर्नेछन् भन्ने विषयमा निर्माण पक्षले औपचारिक रूपमा केही सार्वजनिक गरेको छैन । यद्यपि, भारतीय सञ्चारमाध्यममा उनलाई फिल्मको भिलेन अर्थात् मुख्य प्रतिपक्षी पात्रका रूपमा प्रस्तुत गरिने चर्चा भइरहेको छ । यदि यो खबर पुष्टि भएमा अल्लु अर्जुन र विल स्मिथबीचको आमनेसामने दृश्य फिल्मको प्रमुख आकर्षण बन्न सक्नेछ ।
विल स्मिथको भूमिकाको छायाङ्कन भारतबाहिर हुने बताइएको छ । तर, छायाङ्कनका लागि स्थान भने अहिलेसम्म टुंगो लागिसकेको छैन । निर्माण पक्षले स्मिथको समयअनुसार विदेशमा छायाङ्कन गर्ने स्थान तय गर्ने तयारी गरिरहेको स्रोतको दाबी छ । उनको कस्ट्युमसमेत फाइनल भइसकेको बताइएको छ ।
फिल्मको अर्को आकर्षणका रूपमा बलिउड सुपरस्टार शाहरुख खानको सम्भावित क्यामियो भूमिकालाई समेत हेरिएको छ । यसअघि शाहरुख ‘राका’मा विशेष भूमिकामा देखिन सक्ने चर्चा चलेको थियो । निर्माणसँग सम्बन्धित स्रोतका अनुसार विदेशमा हुने छायाङ्कनका क्रममा शाहरुखको क्यामियो दृश्यसमेत खिचिन सक्ने सम्भावना छ ।
शाहरुख अहिले आफ्नो आगामी फिल्म ‘किङ’को अन्तिम चरणको काममा व्यस्त छन् । सेप्टेम्बरपछि उनी ‘राका’को सम्भावित छायाङ्कनमा सहभागी हुन सक्ने बताइएको छ । निर्देशक एटलीको निर्देशनमा बन्न लागेको ‘राका’लाई ठूलो बजेट र अन्तर्राष्ट्रिय स्तरको प्रस्तुति रहने फिल्मका रूपमा हेरिएको छ । अल्लु अर्जुन, दीपिका पादुकोण, सम्भावित शाहरुख खान र अब विल स्मिथको नाम जोडिएपछि फिल्मप्रतिको दर्शक उत्सुकता थप बढेको छ ।
यद्यपि, विल स्मिथको भूमिका र शाहरुख खानको क्यामियोबारे निर्माण पक्षबाट औपचारिक घोषणा हुन भने बाँकी छ । त्यसैले ‘राका’मा विल स्मिथ वास्तवमै भिलेनका रूपमा देखिने हुन् वा अन्य कुनै महत्वपूर्ण भूमिकामा आउने हुन् भन्ने कुरा आधिकारिक घोषणापछि मात्र स्पष्ट हुनेछ ।