काठमाडौं । पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले व्यावसायिक फुटबलबाट सन्यास लिन सक्ने संकेत गरेका छन् । कीर्तिमानी खेल जीवन बिताइरहेका ४१ वर्षीय रोनाल्डोले फुटबलमा आफ्नो यात्रा अन्तिम चरणमा पुगेको बताएका हुन् ।
हालै ‘भोग’ पत्रिकालाई दिएको अन्तर्वार्तामा रोनाल्डोले फुटबलमा यो आफ्नो अन्तिम वर्ष हुन सक्ने बताएका छन् । उनले आफूले शानदार विरासत छाड्न चाहेको उल्लेख गर्दै अब परिवारसँग बढी समय बिताउने योजना रहेको समेत बताएका छन् । ‘फुटबलमा यो सायद मेरो अन्तिम वर्ष हो र म एउटा शानदार विरासत छोड्न चाहन्छु,’ रोनाल्डोले भनेका छन् ।
उनले फुटबलबाट बाहिरिएपछि आफूलाई व्यस्त राख्ने धेरै योजना रहेको बताएका छन् । परिवारसँग समय बिताउने, यात्रा गर्ने तथा आफूलाई मन पर्ने प्याडेल खेल्ने र हेर्ने योजना रहेको उनको भनाइ छ । रोनाल्डोले आफ्नो २५ वर्षभन्दा लामो फुटबल करियरमा थुप्रै ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । उनले पाँच पटक बालोन डी ओर जितेका छन् भने म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्टसजस्ता विश्वप्रसिद्ध क्लबबाट खेल्दै आफ्नो नाम फुटबल इतिहासमा स्थापित गरेका छन् ।
पोर्चुगलका लागि समेत लामो समयदेखि खेल्दै आएका रोनाल्डोले यसै गर्मीमा आफ्नो छैटौँ विश्वकप खेलेका थिए । विश्वकपमा सहभागिताको यो कीर्तिमानले पनि उनको ऐतिहासिक खेल यात्रालाई थप विशेष बनाएको छ । रोनाल्डोको अर्को ठूलो लक्ष्य भने करियरमा १ हजार गोल पूरा गर्नु हो । उनले क्लब र पोर्चुगलका लागि हालसम्म ९७६ गोल गरिसकेको उल्लेख छ । साउदी अरेबियाको अल नासरबाट खेलिरहेका उनले आगामी सिजन १ हजार गोलको कोशेढुंगा पार गर्ने लक्ष्य राखेका छन् । रोनाल्डोको अल नासरसँग अझै एक वर्षको सम्झौता बाँकी छ । त्यसैले उनले दिएको संकेतअनुसार आगामी सिजनपछि उनी व्यावसायिक क्लब फुटबलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट समेत टाढिन सक्ने सम्भावना देखिएको छ ।
यदि रोनाल्डोले सन्यास लिने निर्णय गरेमा यो आधुनिक फुटबलकै एक महान् युगको अन्त्यका रूपमा हेरिनेछ । पाँच बालोन डी ओर, सयौँ गोल, क्लब तथा देशका लागि हासिल गरेका उपाधि र अनेकौँ कीर्तिमानका कारण उनको विरासत फुटबल इतिहासमा लामो समयसम्म सम्झिइनेछ ।