काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती तथा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावलाई केन्द्रमा राखेर निर्माण गरिएको वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ।
ट्रेलरमा समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको असाधारण यात्रासँगै मानवीय साहस, संघर्ष, दृढ संकल्प र जोखिमको शक्तिशाली झलक प्रस्तुत गरिएको छ। नेपाली प्राविधिकहरूको संलग्नतामा निर्माण गरिएको वृत्तचित्रमा कुनै पनि कृत्रिम वा कम्प्युटर सिर्जित दृश्य प्रयोग नगरिएको निर्माण पक्षले जनाएको छ। समुद्री सतहदेखि सगरमाथाको शिखरसम्मको वास्तविक यात्रालाई समेटिएको यो वृत्तचित्र पूर्णतः वास्तविक दृश्यमा आधारित पहिलो वृत्तचित्र भएको निर्माण पक्षको दाबी छ।
दुई वर्षको अनुसन्धान, छायांकन तथा निर्माण प्रक्रियापछि तयार भएको वृत्तचित्रको कथा सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठले लेखेका हुन्। सञ्चारकर्मी भूषण दाहालको आवाज रहेको वृत्तचित्र नेपाली र अंग्रेजी दुवै भाषामा तयार गरिएको छ। वृत्तचित्रमा ५० वर्ष नाघेका राज गुरुङको प्रेरणादायी यात्रा प्रस्तुत गरिएको छ। उमेर र आफ्नै सीमालाई चुनौती दिँदै सगरमाथा आरोहणको सपना पछ्याउने उनको यात्रालाई केवल आरोहणको कथाका रूपमा नभई सपना, संघर्ष, आत्मविश्वास र असम्भवलाई सम्भव बनाउने मानवीय इच्छाशक्तिको कथाका रूपमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।
निर्मल श्रेष्ठको निर्देशनमा तयार भएको वृत्तचित्रले सगरमाथाको प्राकृतिक भव्यतासँगै आरोहणका जोखिम, शेर्पा समुदायको योगदान, मानवीय साहस तथा जलवायु परिवर्तनका कारण तीव्र रूपमा बदलिँदै गएको हिमाली वातावरणलाई समेत समेटेको छ। वृत्तचित्रमा कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा र निमा ग्याल्जेन शेर्पा आरोहीका रूपमा देखिनेछन्। फुर्वाले हालसम्म सगरमाथाको १८ पटक सफल आरोहण गरेका छन् भने निमाले १० पटक सगरमाथा आरोहण गर्नुका साथै विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमालको सफल आरोहण गरिसकेका छन्।
यात्रामा विनोद गुरुङ, सुरज गुरुङ र निर्मल श्रेष्ठ पनि सहयात्री पात्रका रूपमा देखिनेछन्। निर्माण पक्षका अनुसार ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर भदौ ६ गते काठमाडौंमा हुनेछ। त्यसपछि भदौ २८ गते हङकङमा अन्तर्राष्ट्रिय प्रिमियर गरिनेछ। वृत्तचित्रलाई नेपालका विभिन्न स्थानसँगै अन्तर्राष्ट्रिय मञ्च, फिल्म फेस्टिभल तथा सिनेमा हलमा प्रदर्शन गर्ने तयारी भइरहेको छ।
सामाजिक संस्था ‘वी विल राइज फाउन्डेसन’ ले निर्माण गरेको यस वृत्तचित्रको उद्देश्य दर्शकलाई प्रेरित गर्नुका साथै नेपालको पर्यटनलाई विश्वस्तरमा प्रवर्द्धन गर्नु र हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे विश्वव्यापी ध्यानाकर्षण गराउनु रहेको निर्माण पक्षले जनाएको छ।
५० मिनेट लामो वृत्तचित्रले सगरमाथालाई केवल एउटा हिमालका रूपमा नभई साहस, संघर्ष, अठोट र मानवीय क्षमताको प्रतीकका रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ।