काठमाडौं । नेपाली बक्स अफिसमा विगत तीन सातादेखि फिल्म ‘गौँथली’को दबदबा कायम रहेकै बीच शुक्रबारबाट दुई नयाँ नेपाली फिल्म ‘हली’ र ‘कमला मिस’ प्रदर्शनमा आएका छन्। फरक-फरक विषयवस्तुमा आधारित यी दुवै फिल्मले दर्शकको साथ कत्तिको पाउँछन् भन्ने चासो बढेको छ।
तीन सातामा साढे १६ करोड रुपैयाँभन्दा बढी व्यापार गरिसकेको ‘गौँथली’प्रति दर्शकको आकर्षण अझै कायम रहेकाले नयाँ रिलिज भएका फिल्महरूलाई प्रतिस्पर्धात्मक वातावरण सामना गर्नुपर्ने देखिएको छ। छाउपडी प्रथा र किसानको संघर्षको कथामा आधारित फिल्म ‘हली’ले देशभर ५० भन्दा बढी शो पाएको छ। केही हलमा यसको अग्रिम टिकट बिक्री उत्साहजनक देखिएको छ।
यता बाल मनोविज्ञानमा आधारित फिल्म ‘कमला मिस’ले देशभर करिब ४० वटा शो पाएको भए पनि यसको अग्रिम टिकट बिक्री भने अपेक्षाकृत कमजोर देखिएको छ। अधिकांश शोमा दर्शकको उपस्थिति न्यून रहेको हल सञ्चालकहरूले बताएका छन्।
ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको ‘हली’मा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, ओम प्रतीक, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीलगायत कलाकारहरूको अभिनय रहेको छ। जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायू फिल्म्सको सहकार्यमा निर्माण भएको यस फिल्मका निर्माता पूजा गुरुङ र जस्मिन श्रेष्ठ हुन्।
अर्कोतर्फ अभिनेता नीर शाहको निर्देशनमा बनेको ‘कमला मिस’मा नीर शाह, रमेश बुढाथोकी, बास्ना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा र राजन केसीलगायत कलाकारहरूको अभिनय रहेको छ। यो फिल्म साहित्यकार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’मा आधारित छ।
अब यी दुई नयाँ फिल्मले ‘गौँथली’को निरन्तर दबदबाबीच बक्स अफिसमा कस्तो प्रदर्शन गर्छन् भन्ने कुराले नेपाली फिल्म बजारको आगामी यात्रालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।