काठमाडौं । आगामी नेपाली चलचित्र ‘इलिफेन्ट्स इन द फग’को म्युजिकल ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरले एक आमाले हराएकी छोरीको खोजीमा भोग्ने संघर्ष, पीडा र त्यसक्रममा आउने अनपेक्षित घटनालाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ।
सार्वजनिक म्युजिकल ट्रेलरमा मुख्य पात्र पुष्पाले आफ्नी छोरी अप्सराको खोजी गरिरहेको देखिन्छ। छोरीको खोजीका क्रममा उनले प्रहरी प्रशासनबाट सहयोग लिन खोजे पनि परिस्थितिले अप्रत्याशित मोड लिन्छ। ट्रेलरले आमा-सन्तानको सम्बन्ध, पीडा र जीवनका सुख-दुःखलाई संगीतसँगै प्रभावशाली रूपमा प्रस्तुत गरेको छ।
यसअघि निर्माण टिमले अन्तर्राष्ट्रिय फिल्म महोत्सवलाई लक्षित गर्दै विशेष ट्रेलर सार्वजनिक गरेको थियो। नयाँ म्युजिकल ट्रेलरमा त्यसका केही दृश्यसँगै चलचित्रको सांगीतिक पक्षलाई विशेष रूपमा समेटिएको छ। निर्देशक अविनाश विक्रम शाहको लेखन तथा निर्देशन रहेको ‘इलिफेन्ट्स इन द फग’ले विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा ‘जुरी च्वाइस अवार्ड’ जित्दै नेपाली सिनेमाको इतिहासमा उल्लेखनीय सफलता हासिल गरेको थियो। यही सफलतापछि चलचित्र अब नेपाली दर्शकमाझ प्रदर्शन हुन लागेको हो।
चलचित्रले जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको जीवन, संघर्ष र मानवीय संवेदनालाई केन्द्रमा राखेको छ। फिल्ममा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्कीलगायत कलाकारहरूको अभिनय रहेको छ।
नेपाल, फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा बनेको यस चलचित्रका निर्माता अनुप पौडेल, कुमुदिनी गुरुङ श्रेष्ठ, सोहम ढकाल र प्रचण्डमान श्रेष्ठ हुन्। बहुप्रतीक्षित चलचित्र ‘इलिफेन्ट्स इन द फग’ आगामी भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।