काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बायोपिक फिल्म 'म मदनकृष्ण' मा हरिवंश आचार्यको भूमिकाका लागि अभिनेता अरूण क्षेत्री अनुबन्धित भएका छन्। निर्माण टिमले लामो समयदेखि दर्शकमाझ रहेको कौतुहलता अन्त्य गर्दै अरूणलाई आधिकारिक रूपमा सार्वजनिक गरेको हो।
यसअघि मदनकृष्ण श्रेष्ठको भूमिकामा अभिनेता महेश त्रिपाठी अनुबन्ध भइसकेका छन्। अब पर्दामा महेश र अरूणले नेपाली हास्यव्यंग्य जगतको चर्चित जोडी मदनकृष्ण-हरिवंश अर्थात् 'मह जोडी'लाई जीवन्त बनाउनेछन्। निर्देशक मिलन चाम्सका अनुसार सशक्त अभिनय क्षमता भएका कलाकारको खोजी गर्दै जाँदा अरूण क्षेत्री उपयुक्त विकल्पका रूपमा छनोट भएका हुन्। उनले अरूणलाई हरिवंश आचार्यको भूमिकामा दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन्। चाम्सले अरूणलाई हरिवंश आचार्यको जीवनमा आधारित आगामी बायोपिकका लागि समेत एकैपटक अनुबन्ध गरिएको जानकारी दिएका छन्।
अरूण क्षेत्री हाल प्रदर्शनरत सुपरहिट फिल्म 'गौंथली' का मुख्य अभिनेता हुन्। उनले आफ्नो डेब्यु फिल्म 'महापुरुष' मा हरिवंश आचार्यका छोराको भूमिका निर्वाह गरेका थिए। फिल्म 'म मदनकृष्ण' ले मदनकृष्ण श्रेष्ठको बाल्यकालदेखि कलाकारिताको संघर्ष, सरकारी सेवाको अनुभव, हरिवंश आचार्यसँगको सहकार्य, सफलता र व्यक्तिगत जीवनका विभिन्न उतारचढावलाई समेट्ने निर्माण टिमले जनाएको छ।
फिल्ममा केकी अधिकारीले मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदाको भूमिका निभाउनेछिन्। साथै राजाराम पौडेल, किरण केसी, रूषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनालको पनि अभिनय रहनेछ। भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति रहेको यस फिल्मका निर्माता राजकुमार श्रेष्ठ हुन्। राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बाप्पेको जीवनमा आधारित फिल्म 'अञ्जिला' निर्देशन गरेका मिलन चाम्सले यसपटक नेपाली कला क्षेत्रका चर्चित व्यक्तित्वको जीवनीलाई पर्दामा उतार्न लागेका हुन्।
निर्माण टिमका अनुसार फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले उच्च मूल्यमा खरिद गरिसकेको छ। फिल्मको छायांकन भदौ दोस्रो सातादेखि सुरु हुनेछ भने वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ।डी। कम्पनीले गर्नेछन्।