काठमाडौं । भारतीय चलचित्रका चर्चित अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ। उनी लामो समयदेखि ब्लड क्यान्सरसँग संघर्षरत थिए। मंगलबार साँझ मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उपचारका क्रममा उनले अन्तिम सास लिएका हुन्।
भारतीय कलाकार यशपाल शर्मा र अभिनेत्री रोशनी आचरेजाले सामाजिक सञ्जालमार्फत उनको निधनको पुष्टि गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उपचारपछि स्वास्थ्यमा केही सुधार आए पनि केही महिनाअघि क्यान्सर पुनः बल्झिएपछि उनको अवस्था गम्भीर बनेको थियो।
सन् १९५२ जनवरी २१ मा मध्य प्रदेशको जबलपुरमा जन्मिएका रावतले सन् १९८८ को चर्चित टेलिसिरियल ‘महाभारत’ मा अश्वत्थामाको भूमिका निभाउँदै अभिनय यात्रा सुरु गरेका थिए। पछि ‘गजनी’ फिल्ममा निभाएको खलनायकको भूमिकाले उनलाई भारतीय सिनेमामा विशेष परिचित बनाएको थियो। रावतले हिन्दी, तमिल, तेलुगु, कन्नड, मलयालम, भोजपुरी, बंगाली, मराठी, अंग्रेजीलगायत विभिन्न भाषाका २०० भन्दा बढी फिल्ममा अभिनय गरेका छन्। उनले नेपाली चलचित्रमा पनि आफ्नो अभिनय छाप छाडेका थिए।
उनले ‘ह्रस्व दीर्घ’ मार्फत नेपाली फिल्ममा डेब्यू गरेका थिए, जहाँ अभिनेत्री नीता ढुंगानाको बुबाको भूमिका निभाएका थिए। त्यसपछि ‘आ बाट आमा’ र यसको सिक्वेलमा पनि अभिनय गरेका थिए। सिक्वेल फिल्म आगामी दशैंमा प्रदर्शन हुने तयारीमा छ। केही साताअघि मात्रै उनी नेपाल आएर आफ्नो भागको छायांकन सम्पन्न गरेर फर्किएका थिए।
उनको निधनप्रति नेपाली कलाकार विपना थापा, नीता ढुंगाना, उषा उप्रेती, सविन श्रेष्ठ, विशाल पहारीलगायतले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन्। निर्देशक चन्द्र पन्तले पनि प्रदीप रावतसँगको सहकार्य सम्झँदै उनको आत्माको चिरशान्तिको कामना गरेका छन्।