काठमाडौं । भियतनाममा उत्कृष्ट प्रदर्शन गर्दै २०औँ एसियन गेम्सका लागि छनोट भएको नेपाली पब्जी टोली अन्तिम प्रतियोगितामा सहभागी हुन नपाउने भएको छ। जापानको आइची-नागोयामा हुने एसियन गेम्सका लागि मैदानमा आफ्नो क्षमता प्रमाणित गरे पनि प्रशासनिक प्रक्रियामा भएको कमजोरीका कारण खेलाडीहरू अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट वञ्चित भएका हुन्।
नेपाली टोलीले जुन १९ देखि २१ सम्म भियतनाममा सम्पन्न एसियन गेम्स इस्पोर्ट्स छनोट प्रतियोगितामा २३ टोलीमध्ये सातौँ स्थान हासिल गर्दै शीर्ष ८ भित्र पर्दै एसियन गेम्सको टिकट सुरक्षित गरेको थियो। टोलीमा समिर कोस्टेल्लो, रोहित तामाङ, दीपेश गुरुङ, सौरभ तामाङ र सोनु कार्की रहेका थिए।
तर नेपालबाट एसियन गेम्सका लागि पठाइएको आधिकारिक खेलाडी सूचीमा इस्पोर्ट्स समावेश नगरिएपछि छनोट भएका खेलाडीहरू प्रतियोगिता खेल्नबाट वञ्चित भएका छन्। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा खेलाडीहरूले आफूहरूले मैदानमा आफ्नो जिम्मेवारी पूरा गरे पनि प्रशासनिक कमजोरीका कारण जीवनकै ठूलो अवसर गुमाउनुपरेको गुनासो गरे।
टोलीका व्यवस्थापक होमबहादुर गुरुङले खेलाडीहरूले मेहनत गरेर प्राप्त गरेको अवसर गुम्नु अत्यन्त दुःखद भएको बताए। उनका अनुसार खेलाडीहरूको कुनै कमजोरी नभए पनि संस्थागत समन्वयको अभावले उनीहरू अन्तर्राष्ट्रिय मञ्चबाट बाहिरिन बाध्य भएका छन्।
नेपालमा इस्पोर्ट्ससँग सम्बन्धित दुई छुट्टाछुट्टै संघ सक्रिय रहँदा उत्पन्न भएको विवाद पनि यस घटनाको प्रमुख कारण बनेको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल इस्पोर्ट्स एसोसिएसन ९नेसा० मार्फत टोली छनोट भएर आएको भए पनि राष्ट्रिय खेलकुद परिषद्को आधिकारिक ‘लङ लिस्ट’मा खेलाडीहरूको नाम नरहेकाले उनीहरूलाई एसियन गेम्समा सहभागी गराउन नमिल्ने राखेपले जनाएको छ।
यस घटनापछि खेलाडीहरूले सम्बन्धित निकायसँग एउटै प्रश्न उठाएका छन्-‘हामीले मैदानमा जितेर छनोट पार गर्यौं, तर आफ्नो कुनै गल्तीबिना एसियन गेम्स किन खेल्न नपाउने ?’