काठमाडौं । विश्व पर्वतारोहण क्षेत्रमा साहस, संकल्प र असम्भवलाई सम्भव बनाउने नामका रूपमा परिचित नेपाली मूलका बेलायती नागरिक निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा निधन भएको छ। ४३ वर्षीय पुर्जाको निधनसँगै विश्व पर्वतारोहण क्षेत्रले एक असाधारण आरोही गुमाएको छ।
म्याग्दीको दाना गाउँमा जन्मिएका पुर्जाले १८ वर्षको उमेरमा ब्रिटिश गोरखा रेजिमेन्टमा प्रवेश गरेका थिए। पछि बेलायतको विशेष फौज ‘स्पेसल बोट सर्भिस ९एसबीएस०’मा आबद्ध हुँदै १६ वर्ष सैन्य सेवा गरे। सैनिक जीवनबाटै पर्वतारोहणप्रति आकर्षित भएका उनले सन् २०१२ मा सगरमाथा आधार शिविर पुगेपछि जीवनको दिशा नै परिवर्तन गर्ने निर्णय गरेका थिए।
सन् २०१९ मा उनले ‘प्रोजेक्ट पसिबल’ अन्तर्गत विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गरेर नयाँ विश्व कीर्तिमान कायम गरेका थिए। उनको यही असाधारण उपलब्धिमा आधारित ‘१४ पिक्सस् नथिङ इज इम्पोसिबल’ डकुमेन्ट्रीले विश्वभर चर्चा पाएको थियो। अभियान सफल बनाउन उनले आफ्नै घर धितो राखेर आर्थिक व्यवस्था मिलाएका थिए।
यसपटक पुर्जा ग्यासरब्रुम-२ आरोहणपछि ब्रोड पिक चढ्दै अक्सिजनबिना १४ वटा आठहजारे हिमाल दुईपटक आरोहण गर्ने ऐतिहासिक लक्ष्यतर्फ अघि बढिरहेका थिए। तर क्याम्प-३ नजिक करिब ६,६०० मिटर उचाइमा आएको भीषण हिमपहिरोमा परेपछि उनको जीवनयात्रा टुङ्गिएको हो।
निर्मल पुर्जा केवल सफल आरोही मात्र थिएनन्, नेपाली शेर्पा र पर्वतीय मार्गदर्शकहरूको योगदानलाई अन्तर्राष्ट्रिय रूपमा उचित सम्मान दिलाउन निरन्तर आवाज उठाउने व्यक्तित्व पनि थिए। सन् २०१९ मा सगरमाथाको शिखर नजिक खिचेको आरोहीहरूको लाम लागेको तस्बिरले विश्वभर पर्वत पर्यटनको व्यवस्थापनबारे बहससमेत सुरु गराएको थियो।
बेपत्ता हुनुअघि सामाजिक सञ्जालमा उनले लेखेको अन्तिम सन्देश अहिले धेरैका लागि भावुक सम्झना बनेको छ। उनले आफूलाई यहाँसम्म पुर्याउने सबै समर्थक र आलोचकप्रति धन्यवाद व्यक्त गर्दै उनीहरूले नै आफूभित्रको ऊर्जा र प्रेरणा जगाइराखेको बताएका थिए।
निर्मल पुर्जाको निधनसँगै नेपालले विश्व पर्वतारोहणको एउटा साहसी, प्रेरणादायी र ऐतिहासिक व्यक्तित्व गुमाएको छ। उनको योगदान र कीर्तिमानले भने आउने पुस्ताका पर्वतारोहीलाई सधैँ प्रेरणा दिइरहनेछ।