काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको अवसरमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बा: एक योद्धा’को पहिलो गीत ‘चढेको बुई नबिर्स’ सार्वजनिक गरिएको छ। मर्मस्पर्शी भाव बोकेको गीतमा सञ्जीव थापाको शब्द तथा हरि लम्सालको संगीत र स्वर रहेको छ। गीतले जीवनमा जति नै सफलता हासिल गरे पनि जन्म दिने बाबुआमा र जन्मभूमिलाई कहिल्यै नबिर्सन सन्देश दिएको छ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार झरना थापा, दिव्यदेव पन्त र सुहाना थापा फिचर्ड छन्। दिव्यदेव र झरना श्रीमान्-श्रीमतीको भूमिकामा देखिएका छन् भने सुहानाले विवाहित छोरीको भूमिका निभाएकी छन्। भिडियोमार्फत सन्तानको उज्ज्वल भविष्यका लागि बाबुआमाले गर्ने त्याग, संघर्ष र माया भावुक ढंगले प्रस्तुत गरिएको छ।
हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको फिल्ममा दिव्यदेव, झरना र सुहानासँगै माओत्से गुरुङ, सागर खनाल, सुप्रज्ञा शर्मा, शिशिर सिवाकोटी, शवि थापा, अनिल बुढाथोकी, चन्द्र नेपाल र करण शाहलगायत कलाकारको अभिनय रहेको छ। गायक वसन्त लम्साल निर्माताको रूपमा रहेका यो फिल्म आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो।
फिल्ममा शिवराम श्रेष्ठको छायांकन, मित्र डी गुरुङको सम्पादन, हरि लम्सालको संगीत, सुरेन राईको कोरियोग्राफी तथा रोमन बज्राचार्यको पार्श्व ध्वनि रहेको छ। भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउने फिल्मले नेपाली समाजमा सन्तानका लागि बाबुआमाले गर्ने त्याग, संघर्ष र जीवनभरको समर्पणलाई मुख्य विषयवस्तु बनाएको छ।