काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपका लागि १२ वटा आधिकारिक खेलस्थल (भेन्यू) सार्वजनिक गरेको छ। दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने प्रतियोगिताका खेल तीनै देशका प्रमुख रंगशालामा सञ्चालन हुनेछन्।
जोहानेसबर्गमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको सूचीअनुसार दक्षिण अफ्रिकाका आठ, जिम्बाबेका तीन र नामिबियाको एक रंगशाला विश्वकपका लागि छनोट भएका छन्। दक्षिण अफ्रिकामा वान्डरर्स स्टेडियम, सेन्टुरियन, न्युल्यान्ड्स, किङ्समिड, सेन्ट जर्ज पार्क, माङगाउङ ओभल, बोलान्ड पार्क र बफालो पार्कमा खेल हुनेछ।
त्यस्तै, जिम्बाबेमा हरारे स्पोर्ट्स क्लब, क्विन्स स्पोर्ट्स क्लब (बुलावायो) र भिक्टोरिया फल्सस्थित फाले मोसी-ओआ-टुन्या अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमलाई भेन्यूका रूपमा चयन गरिएको छ। नामिबियाको राजधानी विन्डहोकस्थित नामिबिया क्रिकेट ग्राउन्डमा पनि विश्वकपका खेल आयोजना गरिनेछ।
आईसीसीका अनुसार प्रतियोगितामा विश्वका शीर्ष १४ टोली सहभागी हुनेछन् भने कुल ५७ खेल नयाँ तीन चरणको ढाँचाअनुसार खेलाइनेछन्। प्रतियोगिताको आधिकारिक नारा ‘Three Nations,One Heartbeat’ राखिएको छ, जसले अफ्रिकी दर्शन ‘Ubuntu’ अर्थात् ‘म छु, किनभने हामी छौँ’ भन्ने भावनालाई प्रतिनिधित्व गर्नेछ।
आईसीसी अध्यक्ष जय शाहले २४ वर्षपछि एकदिवसीय विश्वकप अफ्रिकी भूमिमा फर्कनु क्रिकेटका लागि ऐतिहासिक अवसर भएको बताए। उनले दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियाले विश्व क्रिकेटलाई अविस्मरणीय प्रतियोगिता दिने विश्वास व्यक्त गरे।
यसअघि सन् २००३ मा दक्षिण अफ्रिका, जिम्बाबे र केन्याले संयुक्त रूपमा एकदिवसीय विश्वकप आयोजना गरेका थिए। यसपटकका प्रतियोगिताका टिकट बिक्री तथा अन्य जानकारीका लागि समर्थकहरूले अहिलेबाटै आफ्नो रुचि दर्ता गर्न सक्ने व्यवस्था पनि आईसीसीले गरेको छ।