काठमाडौं । चलचित्र विकास बोर्डले आफ्नो २६औँ वार्षिकोत्सवको अवसरमा 'ओल्ड इज गोल्ड' शीर्षकमा पुराना नेपाली चलचित्रहरूको विशेष प्रदर्शनी आयोजना गर्ने भएको छ। साउन २२ देखि २७ गतेसम्म बोर्ड परिसरमा सञ्चालन हुने प्रदर्शनीमा नेपाली चलचित्र इतिहासमा महत्वपूर्ण स्थान बनाएका १० वटा क्लासिक फिल्म निःशुल्क प्रदर्शन गरिनेछ।
बोर्डका अनुसार तत्कालीन शाही नेपाली चलचित्र संस्थानले निर्माण गरेका तथा चलचित्र संग्रहालयमा डिजिटाइज गरी सुरक्षित राखिएका फिल्महरू पुनः दर्शकमाझ प्रस्तुत गरिनेछन्। कार्यक्रमको उद्देश्य नेपाली चलचित्रको ऐतिहासिक विरासत संरक्षण गर्नु, नयाँ पुस्तालाई पुराना नेपाली फिल्मसँग परिचित गराउनु तथा चलचित्र अध्ययन र अनुसन्धानलाई प्रोत्साहन गर्नु रहेको छ।
प्रदर्शनीको पहिलो दिन साउन २२ गते हिरासिंह खत्री निर्देशित 'आमा' प्रदर्शन हुनेछ। त्यसपछि 'सिन्दुर', 'परिवर्तन', 'मनको बाँध', 'के घर के डेरा', 'कुमारी', 'शान्तिदीप', 'हिजो आज भोलि', 'बदलिँदो आकाश' र 'जीवनरेखा' क्रमशः विभिन्न दिन प्रदर्शन गरिने बोर्डले जनाएको छ। एउटा मात्र फिल्म प्रदर्शन हुने दिन शो दिउँसो १२ बजेबाट सुरु हुनेछ भने दुई फिल्म प्रदर्शन हुने दिन पहिलो शो बिहान ११ बजे र दोस्रो शो दिउँसो २ बजे सञ्चालन हुनेछ।
चलचित्र विकास बोर्डले पुराना नेपाली फिल्ममार्फत तत्कालीन समाज, संस्कृति, भाषा, जीवनशैली र चलचित्र निर्माणको इतिहास नयाँ पुस्तासम्म पुर्याउने विश्वास व्यक्त गरेको छ। प्रदर्शनीमा प्रवेश निःशुल्क रहने भए पनि सिट सीमित भएकाले इच्छुक दर्शकलाई अग्रिम रूपमा सिट सुरक्षित गर्न आग्रह गरिएको छ।