काठमाडौं । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शनिबारदेखि सुरु भएको ‘श्रावण मेला २०८३’ को पहिलो दिनमै पाँच हजारभन्दा बढी दर्शकको उत्साहजनक सहभागिता रहेको छ। केएपीए इभेन्ट्सको आयोजनामा सञ्चालन भइरहेको मेलाले पहिलो दिनदेखि नै श्रावण महिनाको सांस्कृतिक र धार्मिक माहोललाई जीवन्त बनाएको आयोजकले जनाएको छ।
मेलाको सुरुवात अर्था रन क्लबसँगको सहकार्यमा आयोजित ‘श्रावण रन’ बाट गरिएको थियो। करिब १ हजार ३ सय धावक सहभागी भएको उक्त दौडले दिनभर सञ्चालन भएका विभिन्न कार्यक्रमका लागि उत्साहपूर्ण वातावरण सिर्जना गरेको थियो। मेलाको औपचारिक उद्घाटन जेनिशा मोक्तानले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन खुश्बु प्रधानले गरेकी थिइन्। मेलामा राखिएका ७० भन्दा बढी स्टलहरूमा गरगहना, कपडा, हस्तकला सामग्री, नेपाली परिकार तथा परम्परागत मिठाइहरूको प्रदर्शनी तथा बिक्री गरिएको थियो। श्रावणको सांस्कृतिक महत्व झल्काउने यी स्टलहरूले आगन्तुकको विशेष आकर्षण केन्द्र बने।
मेलाको अर्को प्रमुख आकर्षण सुजाताज मेहेन्दी द्वारा सञ्चालित विशेष मेहेन्दी बुथ रह्यो, जहाँ एक हजारभन्दा बढी आगन्तुकका हातमा मेहेन्दी लगाइएको आयोजकले जनाएको छ। साथै, आकर्षक फोटो बुथहरूमा पनि दिनभर दर्शकको उल्लेखनीय भीड देखिएको थियो। मनोरञ्जनतर्फ द बेसमेन्ट ब्याण्ड को लाइभ सांगीतिक प्रस्तुति, द अडाप्टर्स नेपाल को भजन तथा विभिन्न मनोरञ्जनात्मक खेल, उपहार ह्याम्पर वितरण र खुला नृत्य मञ्चले मेलाको रौनक थप बढाएको थियो।
पहिलो दिनको उत्साहजनक सहभागितापछि आयोजकले दोस्रो दिन पनि अझ बढी दर्शकको स्वागतका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। क्लासिक्स प्रोजेक्ट्सद्वारा प्रस्तुत यस मेलाको उद्देश्य श्रावण महिनाको मौलिकता, परम्परा, संस्कृति र महिलाको उत्सवलाई एकै थलोमा अनुभव गराउने रहेको आयोजकको भनाइ छ।