काठमाडौं । आगामी भदौ १९ गते प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘बा : एक योद्धा’ को टिजर सार्वजनिक गरिएको छ। निर्माता कम्पनी आर्टिस्टिक इन्टरटेनमेन्टले शुक्रबार आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेको टिजरले फिल्मको भावनात्मक कथावस्तुको झलक प्रस्तुत गरेको हो।
एक मिनेटभन्दा लामो टिजरमा आफ्नो परिवारको रक्षा गर्न एक बाबुले गर्ने अथक संघर्ष र त्यागलाई मार्मिक ढंगले देखाइएको छ। सुरुमा सुखी देखिने एउटा परिवार अचानक आइपर्ने संकटपछि कसरी कठिन परिस्थितिमा पुग्छ भन्ने विषयलाई टिजरले चित्रण गरेको छ। यद्यपि घटनाको वास्तविक कारण खुलाइएको छैन, जसले फिल्मप्रति दर्शकको जिज्ञासा अझ बढाएको छ।
संगीतकार हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, सागर खनाल, सुप्रज्ञा शर्मा, शिशिर सिवाकोटी, शवि थापा, अनिल बुढाथोकी र माओत्से गुरुङ लगायतका कलाकारहरूको अभिनय रहेको छ।
फिल्मका निर्माता वसन्त लम्साल हुन्। यसअघि उनले ‘कर्मा’ फिल्म निर्माण गरिसकेका छन्। फिल्मको छायांकन शिवराम श्रेष्ठले गरेका हुन् भने मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने रहेका छन्। वितरणको जिम्मेवारी कुवेर सिने डिस्ट्रिब्युसनले लिएको छ।
निर्माण पक्षका अनुसार फिल्मले नेपाली समाजमा सन्तानको भविष्यका लागि एक बाबुले जीवनभर गर्ने त्याग, जिम्मेवारी, संघर्ष र बलिदानलाई भावनात्मक रूपमा प्रस्तुत गर्नेछ। सार्वजनिक टिजरले पारिवारिक सम्बन्ध, प्रेम र जिम्मेवारीको कथा पर्दामा कस्तो रूपमा आउनेछ भन्ने संकेत दिँदै दर्शकमाझ सकारात्मक चर्चा बटुल्न थालेको छ।