काठमाडौं । नेपाली मोटरस्पोर्ट्सले इतिहासकै ठूलो उपलब्धि हासिल गरेको छ। एसिया प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिप-२०२५ मा स्वर्ण पदक जितेका नेपाली ड्राइभर आशिष भारती ‘रोनी’ लाई नेपाल सरकारले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ।
युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिसमा मन्त्रिपरिषद्को निर्णयअनुसार रोनीलाई उक्त पुरस्कार प्रदान गरिएको हो। नेपाली मोटरस्पोर्ट्सको इतिहासमा अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्ने खेलाडीले सरकारी नगद पुरस्कार प्राप्त गरेको यो पहिलो घटना मानिएको छ। गत वर्ष श्रीलंकाको कोलम्बोमा सम्पन्न एसिया प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिपमा रोनीले अटो-जिमखाना सोलो विधामा स्वर्ण पदक जित्दै जापान, अष्ट्रेलिया, भारत, दक्षिण कोरिया लगायतका बलिया प्रतिस्पर्धीलाई पछि पारेका थिए। उनको यो सफलता नेपाली मोटरस्पोर्ट्स मात्र नभई समग्र नेपाली खेलकुदकै ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।
रोनीले यो उपलब्धिलाई व्यक्तिगत सफलता भन्दा पनि नेपाली मोटरस्पोर्ट्सको माइलस्टोन भएको बताएका छन्। उनले एक दशकभन्दा लामो निरन्तर मेहनतको परिणामस्वरूप यो सफलता सम्भव भएको उल्लेख गर्दै नासा नेपाल, आफ्नो टोली तथा नेपाल सरकारप्रति आभार व्यक्त गरेका छन्। नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले पनि यस उपलब्धिलाई नेपाली मोटरस्पोर्ट्सको नयाँ युगको सुरुवात भएको जनाएको छ। संघका अनुसार सीमित स्रोत, पूर्वाधार र लगानीका बाबजुद अन्तर्राष्ट्रिय स्तरमा स्वर्ण जित्नु नेपाली खेलकुदका लागि गौरवको विषय हो।
मोटरस्पोर्ट्स विश्वभर व्यवसायिक खेलका रूपमा स्थापित भए पनि नेपालमा अझै पर्याप्त सरकारी तथा निजी क्षेत्रको लगानी हुन नसकेको अवस्था छ। यद्यपि रोनीको सफलताले नेपाली खेलाडीहरू अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम रहेको प्रमाणित गरेको र आगामी पुस्ताका लागि नयाँ प्रेरणा बनेको सरोकारवालाहरूको विश्वास छ।
विशेषज्ञहरूले रोनीको उपलब्धिलाई आधार बनाएर सरकारले मोटरस्पोर्ट्सको विकास, पूर्वाधार विस्तार र खेलाडी प्रोत्साहनमा थप लगानी गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।