काठमाडौं । नेपाली चलचित्र ‘गौँथली’ ले घरेलु बक्सअफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ। बक्सअफिस स्रोतका अनुसार शनिबार बिहानदेखि दिउँसो १ बजेसम्म मात्रै चलचित्रले एक करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
गत शुक्रबार प्रदर्शनमा आएको चलचित्रले रिलिजको पहिलो दिनसम्म चार करोड रुपैयाँ ग्रस कलेक्सन गरिसकेको स्रोतको दाबी छ। दोस्रो दिन पनि दर्शकको उत्साहजनक उपस्थितिका कारण देशभरका अधिकांश हलमा चलचित्रले राम्रो व्यापार गरिरहेको बताइएको छ।
दिउँसो १ बज्नुअघि नै एक करोड रुपैयाँ ग्रस कलेक्सन गरेसँगै ‘गौँथली’ले सप्ताहन्तमा नेपाली बक्सअफिसमा उल्लेखनीय व्यापार गर्ने अनुमान गरिएको छ। चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिना लगायत कलाकारहरूको अभिनय रहेको छ।
डा. भोला रिजालको कथामा आधारित यस चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्। चलचित्रको बलियो कथावस्तु, कलाकारहरूको अभिनय र सकारात्मक दर्शक प्रतिक्रियाका कारण ‘गौँथली’ले प्रदर्शनको सुरुआती दिनदेखि नै बक्सअफिसमा प्रभावशाली उपस्थिति जनाएको छ।