काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘बेहुली’ को पहिलो गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक गरिएको छ। तीज पर्वको अवसरलाई लक्षित गर्दै शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गीत सार्वजनिक गरिएको हो।
गीतमा अर्जुन पोखरेल को शब्द तथा संगीत रहेको छ भने अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रवि ओड ले स्वर दिएका छन्। सार्वजनिक गीत प्रेम र उत्साहले भरिएको रोमान्टिक शैलीमा तयार गरिएको छ। सियोन श्रेष्ठ को कोरियोग्राफी रहेको भिडियोमा फिल्मका मुख्य कलाकार पारस बम ठकुरी (कुल ब्वाय), दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङ ले आकर्षक नृत्य प्रस्तुत गरेका छन्। भिडियोका केही दृश्यमा पारस र दिव्या बेहुला-बेहुलीको पहिरनमा देखिएका छन्, जसले फिल्मको कथा विवाह र पारिवारिक सम्बन्ध वरिपरि केन्द्रित रहेको संकेत गर्दछ।
फिल्मको निर्देशन सशान कँडेल ले गरेका हुन् भने कथा तथा पटकथा माधव शर्मा ले तयार गरेका छन्। फिल्ममा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारहरूको अभिनय रहेको छ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्ट को ब्यानरमा निर्माण भएको फिल्ममा अर्जुन पोखरेल प्रस्तुतकर्ता, प्रताप शमशेर राणा निर्माता, शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता तथा दुर्गा खरेल र शिशिर श्रेष्ठ सह-निर्माताका रूपमा रहेका छन्।
फिल्मको छायांकन नरेन्द्र मैनाली ले गरेका हुन् भने सम्पादन विकास दाहाल को रहेको छ। निर्माण टिमले सार्वजनिक गरेको पहिलो गीतले दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।