काठमाडौं । विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियर (क्रिस्टियानिन्यो) अहिले फुटबल जगतको नयाँ आकर्षण बनेका छन्। १६ वर्षका जुनियरले साउदी क्लब अल नासरको यू-१६ टोलीबाट उत्कृष्ट प्रदर्शन गरेपछि आगामी सिजन सिनियर टोलीसँग प्रशिक्षण गर्ने सम्भावना बलियो बनेको छ।
गत अप्रिलमा अल फायाविरुद्धको खेलमा ह्याट्रिक गर्दै टोलीलाई ४-३ को जित दिलाएका जुनियरले युवा स्तरमा आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्। उनी १५ वर्षकै उमेरमा तीनवटा अन्तर्राष्ट्रिय युवा उपाधि जित्न सफल भएका छन्, जुन उपलब्धिले बुबा क्रिस्टियानो रोनाल्डोको सोही उमेरको रेकर्डलाई समेत उछिनेको छ।
जुनियरलाई हालै पोर्चुगलको यू-१६ राष्ट्रिय टोलीमा पहिलोपटक बोलाइएको छ। उनी टर्कीको अन्टाल्यामा हुने फेडेरेसन्स कपमा सहभागी हुने सम्भावना रहेको बताइएको छ। करिब ६ फिट १ इन्च उचाइ भएका जुनियरलाई आधुनिक फुटबलका लागि उपयुक्त शारीरिक बनावट भएका फरवार्डका रूपमा हेरिएको छ।
खेल पत्रकार फाब्रिजियो रोमानोसहित विभिन्न अन्तर्राष्ट्रिय स्रोतका अनुसार अल नासरले २०२६/२७ सिजनदेखि जुनियरलाई सिनियर टोलीको प्रशिक्षणमा समावेश गर्ने तयारी गरिरहेको छ। यद्यपि यो पूर्ण रूपमा सिनियर टोलीमा पदोन्नति भने होइन। क्लबले उनलाई उच्च स्तरको वातावरणमा अभ्यास गराएर विकासको मूल्याङ्कन गर्ने योजना बनाएको छ। क्रिस्टियानो रोनाल्डोको अल नासरसँगको सम्झौता सन् २०२७ सम्म रहेकाले बुबा र छोरा एउटै टोलीबाट व्यावसायिक फुटबल खेल्ने सम्भावना जीवित रहेको छ। यदि यो सम्भव भयो भने फुटबल इतिहासमा दुर्लभ बुबा-छोरा जोडीको रूपमा उनीहरूको नाम दर्ज हुनेछ।
यसबीच रियल मड्रिड, बायर्न म्युनिख र पेरिस सेन्ट-जर्मेन (पीएसजी) जस्ता युरोपका शीर्ष क्लबहरूले पनि जुनियरमाथि चासो देखाइरहेका छन्। यसले उनको भविष्य साउदी अरेबियामै रहने वा युरोप फर्किने भन्ने विषयलाई थप रोचक बनाएको छ।तर विशेषज्ञहरूले सावधानी अपनाउनुपर्ने सुझाव पनि दिएका छन्। युवा स्तरको सफलता सिनियर फुटबलमा दोहोर्याउन निकै कठिन हुने, बुबाको नामको दबाब झेल्नुपर्ने र अत्यधिक अपेक्षाले मानसिक चुनौती सिर्जना गर्न सक्ने उनीहरूको विश्लेषण छ।
४१ वर्षीय क्रिस्टियानो रोनाल्डो स्वयंले भने छोरामाथि कुनै दबाब नदिने बताउँदै, "उनी व्यवसायिक फुटबलर बने भने म खुसी हुनेछु," भन्ने प्रतिक्रिया यसअघि नै दिइसकेका छन्। उनका अनुसार छोराले आफूलाई केही वर्ष अझै खेलिरहन आग्रह गर्दै एक दिन एउटै टोलीबाट खेल्ने सपना सुनाउने गरेका छन्।