काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौँथली’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गर्दै दर्शकमाझ लोकप्रियता बढाइरहेको छ। प्रदर्शनको छैटौँ दिन आइपुग्दा देशभरका अधिकांश हलमा चलचित्रका शो बिहानैदेखि हाउसफुल हुन थालेका छन्।
हल व्यवस्थापन प्रणालीअनुसार आजका धेरैजसो शो बिहानैदेखि राताम्मे देखिएका छन् भने केही शो ‘फिलिङ फास्ट’ अवस्थामा पुगेका छन्। विशेषगरी दिउँसो र साँझका शोका ८० देखि ९० प्रतिशत टिकट बिहानै अनलाइनमार्फत बिक्री भइसकेका छन्। यसका कारण शो सुरु हुने समयमा हल पुग्ने दर्शकले डोर सेलबाट टिकट पाउन कठिन हुने अवस्था देखिएको छ।
चलचित्रका निर्देशक कपिल रिजालले दर्शकलाई समयमै टिकट बुक गर्न आग्रह गरेका छन्। उनका अनुसार अधिकांश शो बिहानै हाउसफुल भइसकेकाले हलमै गएर टिकट पाइने सम्भावना निकै कम छ। समयको योजना बनाएर चलचित्र हेर्न चाहने दर्शकले अग्रिम टिकट बुक गर्नुपर्ने उनले बताएका छन्।
चलचित्रप्रति दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रिया र मुखैमुखको प्रचार (वर्ड अफ माउथ) का कारण प्रत्येक दिन दर्शक संख्या बढ्दै गएको निर्माण पक्षको भनाइ छ। ‘गौँथली’ मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।
डा. भोला रिजालको कथामा आधारित यस चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार पारेका हुन्। घरपरिवार, सम्बन्ध र आत्मीयताको भावनालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडीले गरिरहेका छन्।