काठमाडौं । २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबल प्रतियोगितामा नेपाल आयोजक जापान र इन्डोनेसियासँग एउटै समूहमा परेको छ। बिहीबार सार्वजनिक गरिएको 'ड्र' अनुसार नेपाल समूह 'ए' मा परेको हो, जहाँ विश्वस्तरका बलिया टोलीविरुद्ध नेपाली टोलीले चुनौतीपूर्ण प्रतिस्पर्धा गर्नुपर्नेछ।
सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा आयोजना हुने एसियाली खेलकुदमा महिला भलिबलतर्फ १४ राष्ट्र सहभागी छन्। प्रतियोगिताका लागि टोलीहरूलाई चार समूहमा विभाजन गरिएको छ। नेपालले विश्व वरीयताको आधारमा एसियाका शीर्ष १४ टोलीभित्र स्थान बनाउँदै प्रतियोगितामा सहभागिता सुनिश्चित गरेको हो।
हाल नेपाल महिला भलिबल टोली विश्व वरीयताको ६८औँ स्थानमा छ। समूहमा रहेको आयोजक जापान विश्व वरीयताको छैटौँ स्थानमा रहेको एसियाकै शक्तिशाली टोली हो भने इन्डोनेसिया ६०औँ स्थानमा छ। जापान अघिल्लो एसियाडको उपविजेता पनि हो।नेपाली महिला टोली लगातार दोस्रो पटक एसियाली खेलकुदमा सहभागी हुन लागेको हो। सन् २०२३ मा चीनको हाङचाउमा भएको एसियाडमा नेपालले पहिलोपटक महिला भलिबलमा प्रतिस्पर्धा गरेको थियो। त्यतिबेला नेपाल समूह चरणमा दक्षिण कोरिया र भियतनामसँग सोझो सेटमा पराजित भएको थियो।
यस संस्करणमा भने नेपाली पुरुष भलिबल टोलीले सहभागिता जनाउने छैन। हाङचाउ एसियाडमा पुरुष टोलीले पनि प्रतिस्पर्धा गरेको थियो। अन्य समूहतर्फ समूह 'बी' मा साविक विजेता चीन, काजकिस्तान र फिलिपिन्स रहेका छन्। समूह 'सी' मा थाइल्यान्ड, चाइनिज ताइपेई, किर्गिस्तान र मंगोलिया छन् भने समूह 'डी' मा भियतनाम, दक्षिण कोरिया, हङकङ र कतार परेका छन्।
नेपालका लागि यसपटकको एसियाड विश्वस्तरका टोलीविरुद्ध अनुभव बटुल्ने मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता प्रमाणित गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।