काठमाडौं । नेपालमा बढ्दो डिजिटल कन्टेन्ट सिर्जनालाई प्रोत्साहन गर्ने उद्देश्यले विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले 'क्रिएटर्स भेटघाट' कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा प्रस्तुत भएका कन्टेन्ट अवधारणामध्ये उत्कृष्ट ६ वटा आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा गरिएको छ।
काठमाडौंमा आयोजित कार्यक्रममा ६० भन्दा बढी नेपाली कन्टेन्ट क्रिएटरको सहभागिता रहेको थियो। सोही अवसरमा इनड्राइभले 'ड्रिम इट. डु इट.' नामक नयाँ क्रिएटर फेलोशिप कार्यक्रम पनि सार्वजनिक गरेको हो। कार्यक्रममार्फत क्रिएटरहरूले लामो समयदेखि निर्माण गर्न चाहेका सिर्जनात्मक परियोजनालाई वास्तविकतामा उतार्न आवश्यक आर्थिक तथा व्यावसायिक सहयोग प्राप्त गर्नेछन्।
कार्यक्रमको प्रारम्भमा सहभागीहरूले आफूले निर्माण गर्न चाहेको 'ड्रिम कन्टेन्ट' को अवधारणा प्रस्तुत गरेका थिए। तीमध्ये मौलिकता, सिर्जनशीलता र कार्यान्वयनको सम्भावनाका आधारमा उत्कृष्ट ६ वटा अवधारणा छनोट गरिएको कम्पनीले जनाएको छ। यसक्रममा ब्रान्डसँग सहकार्य गर्दा ध्यान दिनुपर्ने कानुनी तथा व्यावसायिक पक्षबारे पनि जानकारी दिइएको थियो। सम्झौताका सर्त, उचित पारिश्रमिक निर्धारण, बौद्धिक सम्पत्तिको अधिकार तथा सम्भावित जोखिम व्यवस्थापनजस्ता विषयमा विशेषज्ञहरूले सहभागीहरूलाई प्रशिक्षण दिएका थिए।
कार्यक्रमलाई थप अन्तरक्रियात्मक बनाउन सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरी पोटरी, चित्रकला र हस्तकलासम्बन्धी सिर्जनात्मक अभ्यास गराइएको थियो। प्रत्येक समूहले आफ्नो अवधारणालाई कन्टेन्टका रूपमा विकास गरेर प्रस्तुत गरेका थिए। इनड्राइभका अनुसार छनोट भएका ६ जना क्रिएटरले आफ्नो अवधारणाअनुसार कन्टेन्ट निर्माण गर्न आवश्यक आर्थिक सहयोग प्राप्त गर्नेछन्। उनीहरूलाई स्वतन्त्र रूपमा आफ्नो सिर्जनात्मक शैलीमा कन्टेन्ट निर्माण गर्ने अवसर पनि उपलब्ध गराइनेछ। छनोट भएका कन्टेन्टमा नेपालका मौलिक परिकार, संस्कृति, यात्रा तथा व्यक्तिगत सिर्जनात्मक परियोजनाहरू समेटिएका छन्।
नेपालमा कन्टेन्ट क्रिएटरहरूको प्रभाव र डिजिटल सिर्जनाको क्षेत्र विस्तार भइरहेका बेला इनड्राइभले आफूलाई राइड-हेलिङ सेवामा मात्र सीमित नराखी सिर्जनशील युवाको क्षमता विकास र व्यावसायिक यात्राको साझेदारका रूपमा स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ।
कम्पनीका अनुसार छनोट भएका क्रिएटरहरूको नाम इनड्राइभ नेपालको आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ भने उनीहरूले निर्माण गरेका कन्टेन्ट आगामी महिनाहरूमा क्रमशः सार्वजनिक गरिनेछ। साथै, आगामी संस्करणमा थप नयाँ विधा र बढी क्रिएटरलाई समेट्दै कार्यक्रम विस्तार गर्ने योजना पनि कम्पनीले सार्वजनिक गरेको छ।