काठमाडौं । प्रदर्शनको पहिलो दिन अपेक्षाअनुसार व्यापार गर्न नसकेको नेपाली फिल्म ‘गौँथली’ अहिले बक्स अफिसमा तीव्र गतिमा अघि बढिरहेको छ। दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले फिल्मको व्यापार दिनप्रतिदिन बढ्दै गएको छ भने वर्षकै सर्वाधिक कमाउने नेपाली फिल्म बन्न सक्ने संकेत देखिएको छ।
फिल्मले पहिलो दिन करिब २० लाख रुपैयाँको व्यापार गरेको थियो। तर, शुक्रबार फिल्म हेरेका दर्शकहरूको सकारात्मक ‘वर्ड अफ माउथ’पछि शनिबारदेखि व्यापारमा उल्लेख्य वृद्धि देखिएको हो। आइतबार देशभर दर्शकको चाप उच्च रहँदा सोमबारदेखि कामकाजी दिन सुरु भए पनि फिल्मप्रतिको आकर्षण घटेको छैन। मंगलबार परेको ‘हाफ टिकट डे’मा फिल्मले प्रदर्शनयताकै सर्वाधिक एकदिने कमाइ गरेको जनाइएको छ। बुधबार पनि देशभर अधिकांश साँझका शो हाउसफुल भएका छन्। नेपालगञ्ज, बुटवल, चितवन, कपिलवस्तु, धरान र पोखराजस्ता सहरमा टिकट अभाव देखिएको छ भने काठमाडौंका केही चलचित्र हलमा पनि दर्शकको उल्लेख्य भीड देखिएको छ।
बुधबारको अकुपेन्सीका आधारमा फिल्मले एकै दिन करिब एक करोड रुपैयाँ हाराहारीको व्यापार गर्न सक्ने अनुमान गरिएको छ। अनुमानअनुसार व्यापार भएमा यो फिल्मको प्रदर्शनयताकै सर्वाधिक एकदिने कमाइ हुनेछ। विशेषगरी महिला दर्शकहरूको उल्लेख्य उपस्थितिले फिल्मको व्यापारलाई थप मजबुत बनाएको विश्लेषण गरिएको छ। व्यापार बढेसँगै देशभरका चलचित्र हलहरूले फिल्मका शो पनि उल्लेख्य रूपमा बढाएका छन्। पहिलो दिन करिब १२० शो पाएको फिल्म बुधबारसम्म आइपुग्दा २०० भन्दा बढी शोमा प्रदर्शन भइरहेको वितरक करण श्रेष्ठ (क्रेजी)ले बताएका छन्। उनका अनुसार बिहीबारदेखि शो संख्या अझ बढ्नेछ।
डा। कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, सीतादेवी तिमिल्सिना, लुनिभा तुलाधर, रवीन्द्र झा, सञ्जोग रसाइली र राजेन्द्र नेपालीलगायत कलाकारहरूको अभिनय रहेको छ। बालविवाहको सामाजिक विषयलाई केन्द्रमा राख्दै श्रीमान्-श्रीमतीको सम्बन्धको भावनात्मक कथा प्रस्तुत गरेको यो फिल्म अहिले दर्शकमाझ राम्रो प्रतिक्रिया बटुलिरहेको छ।