काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले २०२६ पुरुष विश्वकपको उत्कृष्ट टोली अर्थात् 'ड्रिम इलेभेन' सार्वजनिक गरेको छ। प्रतियोगिताभर विश्वभरका समर्थकहरूको मतदानका आधारमा ४-३-३ फर्मेसनमा छनोट गरिएको टोलीमा लियोनेल मेसी, किलियन एम्बाप्पे र अर्लिङ हालान्डले अग्रपङ्क्तिमा स्थान बनाएका छन्।
मध्यपङ्क्तिमा इङ्गल्यान्डका जुड बेलिङहम, फ्रान्सका माइकल ओलिसे र स्पेनका रोड्री समावेश छन्। यस्तै रक्षापङ्क्तिमा स्पेनका मार्क कुकुरेला र पेड्रो पोरो, फ्रान्सका दायोत उपामेकानो तथा अर्जेन्टिनाका लिसान्ड्रो मार्टिनेजलाई स्थान दिइएको छ। गोलकिपरको रूपमा भने केप भर्डेका भोझिन्हा छनोट भएका छन्।
यसपटकको उत्कृष्ट टोलीमा विश्वकप विजेता स्पेन र उपविजेता फ्रान्सबाट सर्वाधिक तीन-तीन खेलाडी परेका छन्। क्लबका आधारमा रियल मड्रिडका एम्बाप्पे, बेलिङहम र कुकुरेला गरी तीन खेलाडी टोलीमा समावेश भएका छन्। तर, फिफाको यो 'ड्रिम इलेभेन' मा केही चर्चित नाम भने अटाउन सकेनन्। सबैभन्दा ठूलो अनुपस्थितिका रूपमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोलाई हेरिएको छ। ४१ वर्षको उमेरमा आफ्नो छैटौँ विश्वकप खेलेका रोनाल्डोले पाँच खेलमा तीन गोल गरे पनि पोर्चुगल अन्तिम-१६ मा स्पेनसँग १-० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि उनी उत्कृष्ट ११ मा पर्न सकेनन्।
यस्तै, स्पेनका गोलकिपर उनाई सिमोन, प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका १७ वर्षीय लामिन यामल, ब्राजिलका भिनिसियस जुनियर, इङ्गल्यान्डका ह्यारी केन र बुकायो साका तथा बेल्जियमका केभिन डी ब्रुइना पनि यसपटक समर्थकहरूको रोजाइमा परेको उत्कृष्ट टोलीमा समावेश हुन सकेनन्।
फिफाका अनुसार 'ड्रिम इलेभेन' विश्वभरका फुटबल समर्थकहरूको मतदानका आधारमा तयार गरिएको हो, जसले प्रतियोगिताभर सबैभन्दा प्रभावशाली प्रदर्शन गरेका खेलाडीहरूलाई सम्मान गर्ने उद्देश्य राख्छ।