काठमाडौं । २०२६ फिफा विश्वकप सम्पन्न भएसँगै अब फुटबल जगतको ध्यान सन् २०३० मा स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपतर्फ केन्द्रित हुन थालेको छ। २०२६ को विश्वकपले नयाँ पुस्ताका धेरै प्रतिभाशाली खेलाडीलाई विश्वमञ्चमा चिनाएको थियो भने आगामी संस्करणमा अझ नयाँ अनुहारहरू चम्किने अपेक्षा गरिएको छ।
फुटबल विश्लेषणात्मक वेबसाइट गोल डटकमले सन् २०३० को विश्वकपमा उदाउन सक्ने २० जना प्रतिभाशाली युवा फुटबलरहरूको सूची सार्वजनिक गरेको छ। सूचीमा युरोप, दक्षिण अमेरिका, अफ्रिका र उत्तर अमेरिकाका उदीयमान खेलाडीहरू समावेश छन्, जसलाई आगामी केही वर्षमा विश्व फुटबलका नयाँ सुपरस्टारका रूपमा हेरिएको छ।
ब्राजिलका एस्तेभाओ र एडुआर्डो कन्सेइसाओ, जर्मनीका लेनार्ट कार्ल र केनेट आइचोर्न, स्पेनका मार्क बर्नाल, जाभी एस्पार्ट र एब्रिमा तुनकारा, अर्जेन्टिनाका फ्रान्को मास्टान्टुआनो, इङ्ल्यान्डका म्याक्स डोम्यान, रियो नुमोहा र जेजे गेब्रियल सूचीका प्रमुख नाम हुन्। यस्तै अमेरिकाका काभान सुलिभान र जुलियन हल, पोर्चुगलका रोड्रिगो मोरा, नेदरल्याण्ड्सका सन स्टुर, बेल्जियमका नाथन डे क्याट, नर्वेका गेब्रियल राज्कोभिक, मोरक्कोका अब्देल्लाह ओआजेन, डिआर कंगोका जोर्थी मोकियो तथा इटालीका सामुएल इनासियो पनि भविष्यका सम्भावित विश्वस्तरीय खेलाडीका रूपमा उल्लेख गरिएका छन्।
२०२६ को विश्वकपमा स्पेनका लामिन यामल र पाउ कुबार्सी, मोरक्कोका अयुब बौदी, मेक्सिकोका गिल्बर्टो मोरा, सेनेगलका इब्राहिम म्बाये र बोस्नियाका करिम अलाज्बेगोभिच जस्ता युवा खेलाडीले प्रभावशाली प्रदर्शन गर्दै नयाँ पुस्ताको आगमन संकेत गरिसकेका छन्।
विश्लेषकहरूका अनुसार आगामी चार वर्षमा क्लब फुटबलमा उनीहरूको प्रदर्शन, नियमित खेल्ने अवसर र अन्तर्राष्ट्रिय अनुभवले यी खेलाडीलाई २०३० विश्वकपका मुख्य आकर्षण बनाउनेछ। त्यसैले अहिले नै विश्वका ठूला क्लब र फुटबल समर्थकहरूको नजर यी उदीयमान प्रतिभामाथि केन्द्रित हुन थालेको छ।