काठमाडौं । नेपाली रंगमञ्चमा यतिबेला ‘सेतो धरती’ नाटकले दर्शकको उल्लेखनीय साथ पाइरहेको छ। अमर न्यौपानेको मदन पुरस्कार विजेता कृतिमा आधारित यो नाटकले मञ्चनको ५१ औँ दिन पूरा गर्दै निरन्तर दर्शकको आकर्षण बटुलिरहेको छ। उत्साहजनक सहभागिताका कारण नाटकको प्रदर्शन अवधि आगामी साउन १६ गतेसम्म थपिएको छ।
कान्तिपुर थिएटरका कार्यकारी अधिकृत प्रकाश पुरीका अनुसार अधिकांश शो हाउसफुल भइरहेका छन्। यही लोकप्रियताका बीच यसैसाता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, प्रधानमन्त्रीपत्नी सविना काफ्ले, सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शोभिता गौतम, पूर्वमन्त्रीहरू हिसिला यमी, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भानुभक्त ढकाल तथा सांसद गणेश कार्की र अनुष्का श्रेष्ठ लगायतका राजनीतिक व्यक्तित्वले पनि नाटक अवलोकन गरेका छन्।
दर्शकहरूले नाटकको कथावस्तु, प्रस्तुति र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरेका छन्। गैरीधारास्थित कान्तिपुर थिएटरमा मञ्चन भइरहेको नाटकलाई सुन्दर धितालले निर्देशन गरेका हुन्। नेपाली समाजमा विद्यमान बालविवाह, बालविधवा र महिलाको अस्तित्वसँग सम्बन्धित गम्भीर सामाजिक यथार्थलाई संवेदनशील ढंगले प्रस्तुत गरिएको ‘सेतो धरती’ अहिले सामाजिक सन्देश बोकेको चर्चित नाटकका रूपमा स्थापित भइरहेको छ।
नाटक बुधबार बाहेक हरेक दिन साँझ ४:१५ बजे र ७:१५ बजे मञ्चन हुँदै आएको छ भने सार्वजनिक बिदाका दिन दिउँसो १:१५ बजे अतिरिक्त शो पनि सञ्चालन गरिनेछ। आयोजकले टिकट बुकिङ र समयतालिकासम्बन्धी जानकारी कान्तिपुर थिएटरको वेबसाइटमार्फत उपलब्ध रहेको जनाएको छ।