काठमाडौं । सन् २०२६ फिफा विश्वकपको दोस्रो सेमिफाइनलअघि साविक विजेता अर्जेन्टिना फेरि एकपटक विवादको केन्द्रमा परेको छ। अर्जेन्टिनालाई विश्वकपबाट निष्कासन गर्न माग गर्दै सुरु गरिएको एक अनलाइन अभियानमा झण्डै १ करोड मानिसले हस्ताक्षर गरेका छन्।
‘ArgentinaOut.Org’ नामक वेबसाइटमार्फत सञ्चालित उक्त अभियानमा समाचार तयार पार्दासम्म ९८ लाख ८६ हजारभन्दा बढी हस्ताक्षर संकलन भइसकेको छ। अभियानमा फिफा र रेफ्रीहरूले अर्जेन्टिना तथा कप्तान लियोनेल मेस्सीप्रति पक्षपात गरेको आरोप लगाइएको छ।
याचिकामा अर्जेन्टिनालाई शंकास्पद पेनाल्टी दिलाइएको, भिएआरको प्रयोग एकपक्षीय भएको, विपक्षी टोलीका वैध गोलहरू खारेज गरिएको तथा खेलको नतिजा फिफाको व्यावसायिक स्वार्थअनुसार प्रभावित पारिएको दाबी गरिएको छ। साथै, वेबसाइटमा लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको तुलना राखिएको छ, जहाँ रोनाल्डो मतमा अगाडि देखिएका छन्।
यद्यपि अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनी ले यी आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। उनले आधुनिक भिएआर प्रणाली र प्रविधिको उपस्थितिमा कुनै टोलीलाई जानाजानी फाइदा पुर्याउन सम्भव नरहेको बताएका छन्। अर्जेन्टिनाको राउन्ड अफ १६ मा इजिप्टमाथिको ३-२ को पुनरागमन जित पछि पनि रेफ्रीको निर्णयलाई लिएर विवाद भएको थियो। इजिप्टका प्रशिक्षक होसम हसनले त्यस खेललाई अन्यायपूर्ण भएको टिप्पणी गरेका थिए।
यसैबीच, अर्जेन्टिना र इंग्ल्याण्डबीचको दोस्रो सेमिफाइनल नेपाली समयअनुसार बिहीबार बिहान १२:४५ बजे हुँदैछ। ऐतिहासिक प्रतिस्पर्धा, पछिल्ला विवाद र बढ्दो जनचासोका कारण यो खेल विश्वकपकै सबैभन्दा चर्चित भिडन्तमध्ये एक बन्ने अपेक्षा गरिएको छ।
सेमिफाइनलको विजेताले आइतबार हुने फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।