काठमाडौं । फुटबल प्रेमीहरूको नजर अहिले विश्वकप २०२६ को सबैभन्दा प्रतिक्षित खेलमा केन्द्रित छ। साविक विजेता अर्जेन्टिना र इङ्ल्यान्ड सेमिफाइनलमा आमनेसामने हुँदैछन्। तर यो केवल फाइनल पुग्ने प्रतिस्पर्धा मात्र होइन, दशकौँदेखि चल्दै आएको इतिहास, राजनीति र फुटबलको सबैभन्दा चर्चित प्रतिद्वन्द्विताको अर्को अध्याय पनि हो।
यी दुई टोलीबीचको प्रतिस्पर्धाले सन् १९८६ मा डिएगो म्याराडोनाको चर्चित ‘ह्यान्ड अफ गड’ गोलदेखि सन् १९९८ मा डेभिड बेकह्यामको रेड कार्डसम्मका अविस्मरणीय क्षण जन्माएको छ। फकल्याण्ड युद्धपछिको राजनीतिक तनावले समेत यो भिडन्तलाई विश्व फुटबलकै सबैभन्दा भावनात्मक प्रतिस्पर्धामध्ये एक बनाएको मानिन्छ।
यसपटक सबैको ध्यान अर्जेन्टिनाका कप्तान लियोनल मेसी र इङ्ल्यान्डका युवा स्टार जुड बेलिङ्घमतर्फ छ। ३९ वर्षीय मेसी आफ्नो सम्भावित अन्तिम विश्वकपमा टोलीलाई लगातार दोस्रो उपाधि दिलाउने लक्ष्यमा छन् भने २३ वर्षीय बेलिङ्घम इङ्ल्यान्डलाई ६ दशक लामो उपाधि खडेरी अन्त्य गराउने अभियानमा छन्।
थोमस टुचेलको प्रशिक्षणमा रहेको इङ्ल्यान्डले यस विश्वकपमा प्रभावशाली प्रदर्शन गर्दै उपाधिको दाबेदारका रूपमा आफूलाई स्थापित गरेको छ। अर्कोतर्फ, प्रशिक्षक लियोनल स्कालोनीको अर्जेन्टिनाले अपेक्षाअनुसार सहज प्रदर्शन गर्न नसके पनि कठिन परिस्थितिबाट अघि बढ्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको छ।
विश्वकप इतिहासमा यी दुई टोलीबीच पाँच पटक भेट भइसकेको छ। इङ्ल्यान्डले पहिलो भेट जितेको भए पनि अर्जेन्टिनाले म्याराडोनाको प्रेरणामा ऐतिहासिक जितहरू निकालेको इतिहास छ। पछिल्ला विश्वकप भेट सन् २००२ मा भएको थियो, जहाँ डेभिड बेकह्यामको पेनाल्टी गोलले इङ्ल्यान्ड विजयी बनेको थियो।
अब एटलान्टाको मर्सिडिज–बेन्ज स्टेडियममा हुने यो खेलले नयाँ इतिहास लेख्नेछ। प्रश्न एउटै छ-के मेसीको जादुले अर्जेन्टिनालाई अर्को विश्वकप फाइनलमा पुर्याउनेछ, वा बेलिङ्घमको नेतृत्वमा इङ्ल्यान्डले दशकौँको प्रतीक्षा अन्त्य गर्दै नयाँ इतिहास रच्नेछरु यसको उत्तर मैदानमै तय हुनेछ।