काठमाडौं । फिफा विश्वकप २०२६ अन्तिम चरणमा प्रवेश गरेसँगै विश्वका प्रमुख आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेलहरूले प्रतियोगिताको सम्भावित विजेताबारे आफ्नो विश्लेषण सार्वजनिक गरेका छन्। एजे ल्याब्सले च्याटजिपिटी, जेमिनी, क्लोड, कोपाइलट, ग्रोक, डीपसिक, ले च्याट, क्वेन र मेटा एआई गरी ९ एआई मोडेलमार्फत गरिएको विश्लेषणमा फ्रान्स विश्वकप जित्ने सबैभन्दा बलियो दाबेदारका रूपमा उभिएको छ।
विश्लेषणमा जेमिनी, ग्रोक, डीपसिक, ले च्याट र क्वेन गरी पाँच एआई मोडेलले फ्रान्सलाई सम्भावित विश्वविजेता रोजेका छन्। यता साविक विजेता अर्जेन्टिनाले च्याटजिपिटी, क्लोड, कोपाइलट र मेटा एआईको समर्थन पाउँदै चार मत प्राप्त गरेको छ।
उपविजेताको अनुमानमा भने एआई मोडेलहरूबीच मत विभाजित देखिएको छ। फ्रान्स र अर्जेन्टिनाले समान तीन-तीन मत पाएका छन् भने इंग्ल्यान्डले दुई र स्पेनले एक मत प्राप्त गरेको छ। तेस्रो स्थानका लागि भने अधिकांश एआई मोडेलको रोजाइ स्पेन बनेको छ। नौमध्ये छ एआईले स्पेनलाई तेस्रो स्थानमा रहने अनुमान गरेका छन्। इंग्ल्यान्डले दुई मत पाएको छ भने एक एआईले फ्रान्सलाई तेस्रो स्थानमा राखेको छ।
समग्र विश्लेषणले फ्रान्स, अर्जेन्टिना, स्पेन र इंग्ल्यान्ड नै यस विश्वकपका प्रमुख उपाधि दाबेदार रहेको संकेत गरेको छ। यद्यपि टोलीको वर्तमान लय, खेलाडीको गहिराइ, प्रशिक्षकको रणनीति र प्रतियोगिताको मोमेन्टमलाई फरक–फरक प्राथमिकता दिएकाले एआई मोडेलहरूको अन्तिम अनुमानमा केही भिन्नता देखिएको छ।
विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन आमनेसामने हुँदैछन् भने दोस्रो सेमिफाइनलमा साविक विजेता अर्जेन्टिना र इंग्ल्यान्डबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ।