काठमाडौं । विश्व फुटबलका महानायक लियोनेल मेसीका लागि फिफा विश्वकप २०२६ को सेमिफाइनल केवल अर्को खेल मात्र होइन, उनको दुई दशकभन्दा लामो अन्तर्राष्ट्रिय करियरको सबैभन्दा भावनात्मक र ऐतिहासिक परीक्षा बन्न लागेको छ। २ सयभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलिसकेका ३९ वर्षीय मेसीले आफ्नो करियरमै पहिलो पटक इंग्ल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्न लागेका हुन्।
विश्व फुटबलका दुई परम्परागत शक्तिराष्ट्र अर्जेन्टिना र इंग्ल्यान्ड २१ वर्षपछि विश्वकपको मञ्चमा आमनेसामने हुँदैछन्। यस ऐतिहासिक भिडन्तसँगै सन् १९८६ को विश्वकपमा डिएगो म्याराडोनाले इंग्ल्यान्डविरुद्ध गरेको अविस्मरणीय प्रदर्शन फेरि एकपटक चर्चाको केन्द्रमा पुगेको छ।
मेसीको युवावस्थाको एउटा चर्चित तस्बिर अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल बनेको छ, जहाँ उनी बार्सिलोनामा म्याराडोनाको पोस्टरअगाडि उभिएका देखिन्छन्। उक्त पोस्टर सन् १९८६ को क्वार्टरफाइनलसँग सम्बन्धित थियो, जहाँ म्याराडोनाले ‘ह्यान्ड अफ गड’ र ‘गोल अफ द सेन्चुरी’ गर्दै इंग्ल्यान्डलाई पराजित गरेका थिए। आज त्यही इतिहाससँग जोडिएको अर्को अध्याय लेख्ने अवसर मेसीसामु आएको छ।
फुटबल समर्थक र विश्लेषकहरू अहिले एउटै प्रश्न गरिरहेका छन्- के मेसीले पनि इंग्ल्यान्डविरुद्ध म्याराडोनाजस्तै सम्झनलायक प्रदर्शन गर्दै नयाँ इतिहास रच्न सक्लान्र ? यद्यपि, म्याराडोनाको इतिहास दोहोर्याउनु भन्दा पनि आफ्नै शैलीमा अर्को स्वर्णिम अध्याय लेख्ने अवसर मेसीसामु छ।
सन् १९८६ को विश्वकपदेखि सन् १९९८ मा डेभिड बेकह्यामले रातो कार्ड पाएको घटनासम्म अर्जेन्टिना-इंग्ल्यान्ड प्रतिस्पर्धा केवल खेलमा सीमित छैन, यसले वर्षौंदेखिको प्रतिस्पर्धा, भावना र इतिहास पनि बोकेको छ। त्यसैले यसपटकको सेमिफाइनललाई विश्वकपकै सबैभन्दा प्रतिक्षित खेलका रूपमा हेरिएको छ।
३९ वर्षको उमेरमा सम्भवतः आफ्नो अन्तिम विश्वकप खेलिरहेका मेसीका लागि यो खेल केवल फाइनल पुग्ने अवसर मात्र होइन, विश्व फुटबलको इतिहासमा अर्को अविस्मरणीय अध्याय थप्ने मौका पनि हो। अब सबैको नजर एटलान्टाको मैदानमा हुनेछ, जहाँ इतिहास दोहोरिनेछ कि नयाँ इतिहास लेखिनेछ भन्ने निर्णय ९० मिनेटले गर्नेछ।