काठमाडौं । फ्रान्सका कप्तान किलियन एम्बाप्पेले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा बेल्जियम वा स्पेनमध्ये जोसुकै प्रतिद्वन्द्वी बने पनि आफ्नो टोली त्यसका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन्।
मोरक्कोलाई पराजित गर्दै फ्रान्सलाई लगातार अर्को विश्वकप सेमिफाइनलमा पुर्याउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका एम्बाप्पे लगातार दोस्रो पटक ‘प्लेयर अफ द म्याच’ घोषित भए। खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सम्भावित प्रतिद्वन्द्वीबारे कुनै चिन्ता नरहेको स्पष्ट पारे।
'मलाई कुनै फरक पर्दैन। बेल्जियम भए बेल्जियम, स्पेन भए स्पेन। सेमिफाइनल सधैं कठिन हुन्छ, तर हामी जसलाई पनि सामना गर्न तयार छौं,' एम्बाप्पेले भने। फ्रान्स टोलीमा अहिले आफू पहिलेभन्दा बढी नेतृत्वदायी भूमिकामा रहेको महसुस भएको उनले स्वीकार गरे। टोलीका युवा खेलाडीहरूले आफूलाई अनुभवी खेलाडीका रूपमा हेर्ने गरेको उल्लेख गर्दै उनले मैदानबाहिर पनि उदाहरणीय भूमिका निर्वाह गर्नु आफ्नो जिम्मेवारी भएको बताए।
'मैदानभित्रको कुरा फुटबल हो, तर मानसिक र भावनात्मक रूपमा मैले धेरै विश्वकप खेलेको अनुभव छ। त्यो अनुभव आफ्ना टोलीका साथीहरूसँग बाँड्नु मेरो जिम्मेवारी हो,' उनले भने। मोरक्कोविरुद्धको खेलको अन्तिम समयमा गोलीगाँठोमा सामान्य चोट लागेर मैदान छाडेका एम्बाप्पेले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए।
'म ठीक छु। गोलीगाँठोमा सामान्य चोट लागेको हो। अन्तिम १५ मिनेट खेल्नका लागि मभन्दा मटेटा राम्रो अवस्थामा थिए,' उनले स्पष्ट पारे । सेमिफाइनल पुगे पनि टोलीको लक्ष्य अझै पूरा नभएको भन्दै एम्बाप्पेले उपाधि जित्नु नै अन्तिम उद्देश्य रहेको बताए।
'हामी सेमिफाइनलमा पुगेका छौं र खुसी छौं, तर हाम्रो यात्रा अझै बाँकी छ। अबका चुनौती अझ कठिन हुनेछन्, तर हामी त्यसका लागि तयार छौं,' उनले भने। मोरक्कोका कप्तान तथा आफ्ना घनिष्ठ मित्र अश्रफ हाकिमीविरुद्ध खेल्नुपर्दा भावनात्मक अवस्था भए पनि मैदानमा केवल जित नै प्राथमिकता हुने उनले बताए।
सन् २०१८ को विश्वकप विजेता टोलीसँग अहिलेको फ्रान्सेली टोलीको तुलना गर्न उनले अस्वीकार गर्दै उपाधि जितेपछि मात्र टोलीको मूल्यांकन गर्नुपर्ने धारणा राखे। 'यो टोलीमा धेरै सम्भावना छ र भविष्यका लागि ठूलो आशा छ। तर सबैभन्दा बलियो टोली त्यही हो, जसले उपाधि जित्छ। अहिले मेरो छेउमा कुनै स्वर्णिम ट्रफी छैन,' एम्बाप्पेले भने।