काठमाडौं । अर्जेन्टिना र इजिप्टबीचको विश्वकप अन्तिम १६ को खेलपछि चर्किएको रेफ्री विवादमा फिफाले औपचारिक रूपमा आफ्नो धारणा सार्वजनिक गरेको छ। फिफाका रेफ्री प्रमुख पियरलुइजी कोलिनाले अर्जेन्टिनालाई फाइदा पुग्ने गरी रेफ्रीले कुनै पक्षपात नगरेको स्पष्ट पार्दै इजिप्टले लगाएका आरोपलाई निराधार र अस्वीकार्य बताएका छन्।
फिफाको आधिकारिक वेबसाइटमा प्रकाशित अन्तर्वार्तामा कोलिनाले खेलका सबै महत्त्वपूर्ण निर्णयहरू अन्तर्राष्ट्रिय फुटबल नियमअनुसार गरिएको दाबी गरेका छन्। उनका अनुसार मैदानका रेफ्री र भिडियो सहायक रेफ्री ९भिएआर० दुवैले स्वतन्त्र र निष्पक्ष रूपमा आफ्नो जिम्मेवारी पूरा गरेका थिए।
उनले रेफ्रीका निर्णयबारे खेलपछि बहस हुनु फुटबलको स्वाभाविक पक्ष भए पनि कुनै प्रमाणबिनाका आरोपले रेफ्री र उनीहरूको परिवारसमेत जोखिममा पर्न सक्ने चेतावनी दिए। कोलिनाले भने, 'रचनात्मक आलोचना स्वीकार्य हुन्छ, तर आधारहीन आरोपको फुटबलमा कुनै स्थान छैन।'
कोलिनाले फिफाको रेफ्री प्रणाली पूर्ण रूपमा स्वतन्त्र रहेको पनि स्पष्ट पारे। उनका अनुसार फिफाका अध्यक्ष जियानी इन्फान्टिनोसहित कुनै पनि व्यक्तिले रेफ्रीको निर्णयमा हस्तक्षेप गर्न सक्दैनन्। उनले खेल अधिकारीहरू हरेक खेलमा निष्पक्ष निर्णय दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै उनीहरूको इमान्दारितामाथि प्रश्न उठाउनु उचित नभएको बताए।
इजिप्टले किन उठायो विवाद ?
विश्वकपको अन्तिम १६ मा अर्जेन्टिनासँग ३-२ ले पराजित भएपछि इजिप्टले रेफ्रीको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको थियो। दुई गोलले पछि परेको अर्जेन्टिनाले अन्तिम ११ मिनेटमा दुई गोल फर्काउँदै पुनरागमन गरेको थियो भने इन्जुरी समयमा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै टोलीलाई क्वार्टरफाइनल पुर्याएका थिए।
हारपछि इजिप्टका प्रशिक्षक होसाम हसनले अर्जेन्टिनालाई प्रतियोगितामा टिकाइराख्न रेफ्रीमाथि दबाब परेको हुन सक्ने आशंका व्यक्त गरेका थिए। उनले आफ्नो टोलीलाई क्वार्टरफाइनल पुग्ने अवसरबाट 'वञ्चित गरिएको' आरोप समेत लगाएका थिए।
त्यसैगरी इजिप्ट फुटबल संघले पनि भिडियो सहायक रेफ्री (भिएआर) प्रणालीको प्रयोग निष्पक्ष नभएको दाबी गर्दै त्यसविरुद्ध औपचारिक आपत्ति जनाएको थियो।
विवादित निर्णयबारे फिफाको जवाफ
इजिप्टले दोस्रो हाफमा मुस्तफा जिकोले गरेको गोललाई गलत रूपमा रद्द गरिएको तथा अर्जेन्टिनाको निर्णायक गोलअघि मोहम्मद सलाहमाथि भएको चुनौतीलाई फाउल नमानेर रेफ्रीले गम्भीर त्रुटि गरेको दाबी गरेको थियो।
तर कोलिनाका अनुसार भिडियो समीक्षा गर्दा अर्जेन्टिनाका डिफेन्डर लिसान्ड्रो मार्टिनेजमाथि आक्रमणको क्रममा स्पष्ट फाउल भएको देखिएकाले गोल रद्द गर्ने भिएआरको निर्णय सही थियो। उनले 'फाउल भनेको फाउल नै हो' भन्दै रेफ्रीले नदेखेको अवस्थामा पनि भिएआरले हस्तक्षेप गर्न मिल्ने नियम रहेको स्पष्ट पारे।
मोहम्मद सलाहमाथि भएको ट्याकललाई पेनाल्टी नदिने निर्णयको पनि उनले बचाउ गरे। उनका अनुसार अर्जेन्टिनाका जुलियन अल्भारेजले पहिले बलमा खेलिसकेपछि भएको सामान्य शारीरिक सम्पर्कलाई फुटबलको स्वाभाविक खेलको हिस्सा मानिएको थियो, त्यसैले त्यसलाई पेनाल्टी दिनुपर्ने अवस्था नरहेको निष्कर्ष निकालिएको हो।
कोलिनाले केही निर्णयमा व्यक्तिपरक मूल्याङ्कन हुने स्वीकार गरे पनि यस विश्वकपभर भिएआर प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै सञ्चालन भएको र त्यसप्रति फिफा पूर्ण रूपमा विश्वस्त रहेको बताएका छन्।