काठमाडौं । विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोका लागि विश्वकपको यात्रा अत्यन्त भावुक र पीडादायी रूपमा समाप्त भएको छ। स्पेनसँगको हारपछि पोर्चुगल प्रतियोगिताबाट बाहिरिएसँगै ४१ वर्षीय रोनाल्डोको विश्वकप अध्याय पनि अन्त्य भएको मानिएको छ। दुई दशकभन्दा बढी समय विश्व फुटबलमा राज गरेका रोनाल्डोको अन्तिम विश्वकप यात्राको बिदाइले संसारभरका समर्थकलाई भावुक बनाएको छ।
खेल समाप्त भएपछि मैदानमा देखिएको एउटा दृश्यले धेरैको मन छोयो। हारसँगै भावुक बनेका रोनाल्डो एक्लै मैदानमा उभिएर आँसु झारिरहेका थिए। क्यामेराहरू उनको अनुहारतर्फ केन्द्रित भइरहेका थिए, तर त्यो कठिन क्षणमा उनलाई ढाडस दिन आफ्नै टोलीका खेलाडीहरू नआएको दृश्यले धेरै समर्थक निराश बने। सामाजिक सञ्जालमा पनि यही विषयलाई लिएर व्यापक चर्चा भइरहेको छ।
रोनाल्डो पोर्चुगलका सर्वाधिक गोलकर्ता मात्र होइन, अन्तर्राष्ट्रिय फुटबल इतिहासकै सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनले पोर्चुगललाई युरोकपसहित महत्त्वपूर्ण अन्तर्राष्ट्रिय उपाधि दिलाएका छन्। तर विश्वकप ट्रफी भने उनको करियरको अधुरो सपना बनिरह्यो। हारपछि सञ्चारकर्मीसँग कुरा गर्दै रोनाल्डोले आफूले देशका लागि आफ्नो सम्पूर्ण योगदान दिएको बताए। उनले हार स्वाभाविक भएको उल्लेख गर्दै आफू सफा मनका साथ विश्वकपबाट बिदा भएको प्रतिक्रिया दिएका छन्। उनले भविष्यबारे तत्काल कुनै निर्णय नगर्ने र परिवारसँग समय बिताएर मात्र आगामी योजना तय गर्ने पनि बताएका छन्।
रोनाल्डोको भावुक बिदाइले नेपालका कलाकार तथा चर्चित व्यक्तित्वहरूलाई पनि छोएको छ। सामाजिक सञ्जालमार्फत धेरै नेपाली सेलिब्रेटीहरूले उनलाई सम्मान व्यक्त गर्दै प्रेरणादायी खेलजीवनको प्रशंसा गरेका छन्। कलाकार दीपकराज गिरीले पहिले विपक्षी टोली हार्दा खुसी लाग्ने गरेको भए पनि अहिले महान् खेलाडीहरूको बिदाइले मन दुख्ने अवस्था आएको उल्लेख गरेका छन्। गायक बद्री पंगेनीले रोनाल्डोको हारले आफ्नो मन अरू दिनभन्दा बढी दुखेको प्रतिक्रिया दिएका छन्।
गायक शिव परियारले पोर्चुगल टोलीको समन्वयमा कमजोरी देखिएको टिप्पणी गर्दै रोनाल्डोप्रति सधैं सम्मान रहने बताएका छन्। गायक प्रकाश सपुतले रोनाल्डोलाई आफ्नो पुस्ताको महान् खेलाडीको संज्ञा दिँदै सफलतासँगै असफलताले पनि जीवनको वास्तविकता सिकाउने उल्लेख गरेका छन्। त्यस्तै, गायक प्रकाश दासले लेजेन्ड कहिल्यै ओझेलमा नपर्ने बताएका छन् भने कलाकार जितु नेपालले खेलमा हार र जित स्वाभाविक भए पनि समयले सबैलाई कुनै न कुनै दिन रुवाउने टिप्पणी गरेका छन्। गायक प्रमोद खरेलले पनि रोनाल्डोलाई सच्चा खेलप्रेमीको मनमा सदैव जीवित रहने लेजेन्डका रूपमा सम्मान व्यक्त गरेका छन्।
नायिकाहरू केकी अधिकारी, वर्षा सिवाकोटी तथा गायिकाहरू रचना रिमाल र समीक्षा अधिकारीले पनि सामाजिक सञ्जालमार्फत रोनाल्डोलाई सम्मानपूर्वक बिदाइ दिएका छन्।
विश्वकपको ट्रफी जित्ने सपना अधुरै रहे पनि क्रिस्टियानो रोनाल्डोले फुटबल इतिहासमा बनाएको कीर्तिमान, समर्पण र प्रभाव भने पुस्तौँसम्म सम्झिइनेछ। उनका लागि विश्वकप यात्रा समाप्त भए पनि विश्व फुटबलमा उनले बनाएको विरासत भने सधैँ अमिट रहनेछ।