काठमाडौं । फिफा विश्वकप-२०२६ मा कोलम्बियाले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अमेरिकाको कान्सास सिटीमा शनिबार बिहान सम्पन्न खेलमा घानालाई १-० गोलले पराजित गर्दै कोलम्बियाले नकआउट चरणमा आफ्नो यात्रा सुनिश्चित गरेको हो।
कोलम्बियाको जितमा जोन एरियास नायक बने। उनले खेलको १४औँ मिनेटमा लुइस स्वारेजको आकर्षक पासलाई सदुपयोग गर्दै गरेको गोल नै खेलको एकमात्र तथा निर्णायक गोल बन्यो। त्यसपछि दुवै टोलीले थप अवसर सिर्जना गरे पनि स्कोर परिवर्तन हुन सकेन।
यस जितसँगै कोलम्बियाले क्वाटरफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ। नकआउट चरणमा दुवै टोलीबीच हुने भिडन्तलाई निकै प्रतिस्पर्धात्मक मानिएको छ।
यस खेलसँगै फिफा विश्वकप-२०२६ को अन्तिम १६ मा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ। अन्तिम १६ मा अर्जेन्टिना, अमेरिका, क्यानडा, मोरक्को, पाराग्वे, फ्रान्स, ब्राजिल, नर्वे, मेक्सिको, इङ्ग्ल्यान्ड, पोर्चुगल, स्पेन, बेल्जियम, इजिप्ट, स्विट्जरल्यान्ड र कोलम्बियाले स्थान बनाएका छन्।