काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को बहुप्रतीक्षित खेलमा शनिबार बिहान साविक विश्वविजेता अर्जेन्टिना र विश्वकपमा पहिलोपटक सहभागी बनेको केप भर्डे आमनेसामने हुँदैछन्। अमेरिकाको मियामी स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार बिहान २ः४५ बजे सुरु हुनेछ।
अन्तर्राष्ट्रिय फुटबल इतिहासमा यी दुई राष्ट्रबीच हुने यो पहिलो प्रतिस्पर्धा हो। अनुभवी र स्टार खेलाडीले भरिएको अर्जेन्टिना उपाधि रक्षा गर्ने लक्ष्यमा छ भने केप भर्डे विश्व फुटबलमा अर्को ऐतिहासिक उपलब्धि थप्ने योजनामा मैदान उत्रिँदैछ।
समूह चरणमा अर्जेन्टिनाले अल्जेरिया, अस्ट्रिया र जोर्डनलाई पराजित गर्दै शतप्रतिशत जितका साथ नकआउट चरणमा स्थान बनाएको थियो। कप्तान लियोनल मेसी उत्कृष्ट लयमा छन्। उनले तीन खेलमा ६ गोल गर्दै गोल्डेन बुटको दौडमा अग्रस्थान कायम गरेका छन्। मेसीसँगै जुलियन अल्भारेज, रोड्रिगो डे पल र एलेक्सिस म्याक एलिस्टरको उपस्थितिले अर्जेन्टिनालाई थप बलियो बनाएको छ।
यता, करिब पाँच लाख जनसंख्या भएको सानो टापु राष्ट्र केप भर्डेले आफ्नो पहिलो विश्वकपमै इतिहास रच्दै अन्तिम ३२ मा स्थान बनाएको छ। स्पेन र उरुग्वे रहेको कठिन समूहबाट तीनवटै खेल बराबरी खेल्दै उपविजेताका रूपमा नकआउट यात्रा तय गरेको केप भर्डे यस संस्करणका चार नवप्रवेशी टोलीमध्ये अन्तिम ३२ पुग्ने एकमात्र टोली हो।
केप भर्डेको सबैभन्दा बलियो पक्ष उसको अनुशासित रक्षापंक्ति हो। समूह चरणमा स्पेन र साउदी अरेबियाविरुद्ध क्लिन सिट राखेको टोलीका ४० वर्षीय अनुभवी गोलरक्षक भोजिन्हाले उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान खिचेका छन्। अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले केप भर्डेलाई कमजोर टोलीका रूपमा नहेर्न आग्रह गरेका छन्। उनले प्रतिद्वन्द्वी आफ्नै क्षमता र मेहनतका आधारमा यहाँसम्म आइपुगेको भन्दै पूर्ण सम्मानका साथ खेल्ने बताएका छन्।
यता, केप भर्डेका प्रशिक्षक बुबिस्ताले आफ्नो टोली अर्जेन्टिनाविरुद्ध पनि आक्रामक र निडर शैलीमै खेल्ने बताएका छन्। उनका अनुसार टोलीले सुरुदेखि नै आफ्नो क्षमतामा विश्वास राख्दै आएको छ र विश्वविजेतासँग पनि त्यही आत्मविश्वासका साथ मैदान उत्रनेछ।
यो खेलको विजेताले क्वार्टरफाइनल प्रवेशका लागि अष्ट्रेलिया र इजिप्टबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। विश्वविजेता अर्जेन्टिना आफ्नो यात्रा निरन्तर बनाउने लक्ष्यमा रहँदा केप भर्डे भने विश्व फुटबलकै अर्को ठूलो उलटफेर गर्ने सपना बोकेर मैदानमा उत्रिनेछ।