काठमाडौं । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेले व्यक्तिगत कीर्तिमानभन्दा विश्वकपको उपाधि आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्। विश्वकप फुटबल २०२६ मा सर्वाधिक गोलकर्ताको दौडमा लियोनल मेसीसँग प्रतिस्पर्धामा रहेका एम्बाप्पेले आफू ट्रफी जितेर फ्रान्स फर्किन चाहेको स्पष्ट पारेका हुन्।
मंगलबार स्वीडेनविरुद्धको अन्तिम ३२ को खेलमा दुई गोल गर्दै फ्रान्सलाई ३-० को जित दिलाएका एम्बाप्पे विश्वकपमा कुल १८ गोल पुर्याउन सफल भएका छन्। यससँगै उनी मेसीको नाममा रहेको विश्वकपको सर्वाधिक १९ गोलको कीर्तिमानभन्दा केवल एक गोलले मात्र पछाडि छन्। जारी विश्वकपमा एम्बाप्पे र मेसी दुवैले समान ६-६ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थान साझा गरेका छन्।
खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै एम्बाप्पेले आफ्नो ध्यान व्यक्तिगत उपलब्धिमा नभई टोलीको सफलतामा रहेको बताए। उनले भने, "मैले पहिले पनि भनेको थिएँ, हाम्रो लक्ष्य सकेसम्म अगाडि बढ्नु र जुलाई १९ मा हुने फाइनल खेल्नु हो। मेरो चाहना ट्रफी जितेर फ्रान्स फर्किने हो।"
उनले मेसीप्रति सम्मान व्यक्त गर्दै व्यक्तिगत कीर्तिमानको प्रतिस्पर्धालाई धेरै महत्व नदिएको पनि बताए। "जति धेरै गोल गरियो, त्यति नै माथि पुगिन्छ भन्ने सबैलाई थाहा छ। तर मलाई विश्वास छ, लियोले अझै गोल गर्नेछन्। त्यसैले मेरो ध्यान कीर्तिमानमा होइन, हाम्रो टोली र आगामी खेलमा केन्द्रित छ," एम्बाप्पेले भने।
अब अर्जेन्टिनाले शुक्रबार केप भर्डेविरुद्ध क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ भने फ्रान्सले पाराग्वेको चुनौती सामना गर्नेछ। उक्त खेल जित्ने टोलीले सेमिफाइनलमा आयोजक क्यानडा वा मोरक्कोमध्ये एकसँग खेल्नेछ।
एम्बाप्पेले पाराग्वेविरुद्धको खेललाई हल्का रूपमा नलिने स्पष्ट गर्दै टोलीले अझै केही पक्षमा सुधार गर्नुपर्ने स्वीकार गरेका छन्। उनले मैदानमा तालमेल थप मजबुत बनाउन आवश्यक रहेको उल्लेख गर्दै उपाधिको यात्रामा प्रत्येक खेल निर्णायक हुने बताएका छन्।