काठमाडौं । विश्वकप २०२६ मा एउटा यस्तो कथा जन्मिएको छ, जसले फुटबल समर्थकहरूको मन जितिरहेको छ। उपाधिको बलियो दाबेदार मानिएको स्पेनलाई गोलविहीन बराबरीमा रोक्दै केप भर्डेका अनुभवी गोलकिपर जोसिमार डियास अर्थात् 'भोजिन्हा' विश्व फुटबलको नयाँ नायक बनेका छन्।
यो खेल केप भर्डेको विश्वकप इतिहासकै पहिलो खेल थियो। पहिलोपटक विश्वकप खेलेको टोलीले शक्तिशाली स्पेनसँग ०-० को बराबरी खेल्दै आफ्नो पहिलो अंक बटुल्यो। यस सफलताको सबैभन्दा ठूलो श्रेय गोलपोस्ट अगाडि पर्खाल बनेर उभिएका ४० वर्षीय भोजिन्हालाई दिइएको छ।
स्पेनले खेलभर २७ वटा प्रहार गर्यो, जसमध्ये ७ वटा प्रहार गोलपोस्टभित्र थिए। तर प्रत्येक अवसरमा भोजिन्हाले अद्भुत बचाउ गर्दै आफ्नो टोलीलाई हारबाट जोगाए। उनको उत्कृष्ट प्रदर्शनका कारण उनी 'म्यान अफ द म्याच' घोषित भए।
तर मैदानमा मात्र होइन, सामाजिक सञ्जालमा पनि भोजिन्हाले इतिहास रचे। खेलअघि करिब ४५ हजार मात्र रहेका उनका इन्स्टाग्राम फलोअर्स केही घण्टामै लाखौंले बढ्न थाले। समाचार तयार पार्दासम्म उनको फलोअर्स संख्या ५१ लाख नाघिसकेको छ र अझै तीव्र गतिमा बढिरहेको छ।
खेलपछि अचानक प्राप्त विश्वव्यापी लोकप्रियताबारे प्रतिक्रिया दिँदै भोजिन्हाले केवल एक शब्द भने - "क्रेजी।" केप भर्डेका लागि यो केवल बराबरीको नतिजा होइन, इतिहास लेखिएको क्षण हो। उता, विश्वकप जित्ने दाबेदारमध्ये एक मानिएको स्पेनका लागि भने यो अप्रत्याशित झट्का बनेको छ।
फुटबलमा नाम होइन, प्रदर्शनले इतिहास लेखिन्छ भन्ने कुरा भोजिन्हाले फेरि एकपटक प्रमाणित गरिदिएका छन्।