काठमाडौं । फिफा विश्वकप-२०२६ मा रेफ्रीको भूमिका निर्वाह गर्ने अवसर पाएका सोमालियाका रेफ्री ओमर अर्टान अन्तिम समयमा प्रतियोगिताबाट बाहिरिएका छन्। अमेरिका प्रवेशका लागि अनुमति नपाएपछि उनको विश्वकप खेलाउने सपना अधुरै बनेको हो।
सन् २०२५ मा अफ्रिकाको सर्वोत्कृष्ट रेफ्री घोषित भएका अर्टानलाई अमेरिका पुगेपछि मियामी अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रवेश अनुमति नदिई फिर्ता पठाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। हाल उनी टर्कीमा रहेको बताइएको छ।
अमेरिकी अध्यागमन अधिकारीहरूले उनलाई किन प्रवेश निषेध गरियो भन्ने स्पष्ट कारण सार्वजनिक गरेका छैनन्। यद्यपि, अमेरिकी प्रशासनले यात्रा प्रतिबन्ध लगाएका मुलुकहरूको सूचीमा सोमालिया पनि रहेकाले त्यससँग यो निर्णय जोडिएको अनुमान गरिएको छ। विश्व फुटबलको सर्वोच्च संस्था फिफाले समेत अर्टानले यसपटक विश्वकपमा रेफ्रीको जिम्मेवारी निर्वाह गर्न नपाउने पुष्टि गरेको छ। फिफाले आयोजक राष्ट्रको भिसा तथा अध्यागमन नीतिमा आफ्नो कुनै भूमिका नरहने स्पष्ट पारेको छ।
सोमालियाली अधिकारीहरूका अनुसार अर्टानसँग यात्राका लागि आवश्यक सबै वैध कागजात थिए। अघिल्ला भिसा समस्यालाई ध्यानमा राख्दै उनलाई यसपटक कूटनीतिक राहदानीसमेत उपलब्ध गराइएको थियो। घटनापछि सोमालियन फुटबल महासंघले फिफासँग तत्काल स्पष्टीकरण माग गरेको छ।
उता, ह्वाइट हाउस विश्वकप कार्यदलका प्रमुख एन्ड्रयू जिलियानीले अध्यागमन अधिकारीहरूको निर्णय सही भएको दाबी गरेका छन्। तर उनले थप विवरण खुलाउन अस्वीकार गरेका छन्। सन् २०१८ देखि फिफा रेफ्रीका रूपमा कार्यरत अर्टानले अफ्रिका कप अफ नेसन्सलगायतका ठूला प्रतियोगितामा खेल सञ्चालन गरिसकेका छन्। उनी अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकप-२०२६ का लागि छनोट भएका ५२ रेफ्रीमध्ये एक थिए।
यदि उनले विश्वकपमा खेल सञ्चालन गर्न पाएको भए, उनी विश्वकप फुटबलमा रेफ्रीको भूमिका निभाउने पहिलो सोमालियाली नागरिक बन्ने थिए। तर अमेरिका प्रवेशमा रोक लागेपछि उनको त्यो ऐतिहासिक अवसर गुमेको छ।