काठमाडौं । भारतीय पुरुष टी-२० अन्तर्राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा श्रेयस अय्यर नियुक्त हुने भएका छन्। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले सन् २०२८ को लस एन्जलस ओलम्पिक तथा सोही वर्ष आयोजना हुने टी-२० विश्वकपलाई लक्षित गर्दै अय्यरलाई टोलीको नेतृत्व सुम्पने तयारी गरेको हो।
बीसीसीआईका राष्ट्रिय छनोटकर्ताहरूले आगामी केही वर्षका लागि स्थायी नेतृत्व विकास गर्ने रणनीतिअनुसार अय्यरलाई कप्तानीको जिम्मेवारी दिने निर्णय गरेका हुन्। गत टी-२० विश्वकपमा सूर्यकुमार यादवको कप्तानीमा भारतले उपाधि जिते पनि उनको व्यक्तिगत प्रदर्शनलाई लिएर छनोट समितिभित्र व्यापक समीक्षा भएको बताइएको छ।
विश्वकपका नौ इनिङ्समा १३६.७२ को स्ट्राइक रेटमा २४२ रन बनाएका सूर्यकुमार आगामी भ्रमणका लागि टोलीबाहिर पर्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
आईपीएलमा सफल कप्तानका रूपमा परिचित अय्यरले सन् २०२४ मा कोलकाता नाइट राइडर्सलाई उपाधि दिलाएका थिए। उनले यसअघि दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सलाई पनि फाइनलसम्म पुर्याएका थिए। ब्याटरका रूपमा समेत अय्यरले पछिल्ला दुई आईपीएल सिजनमा उत्कृष्ट प्रदर्शन गरेका छन्।
यसैबीच, आयरल्यान्ड र इङ्गल्यान्ड भ्रमणका लागि घोषणा गरिने भारतीय टोलीमा १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीले पहिलो पटक स्थान बनाउने निश्चित भएको छ। उनी सचिन तेन्दुलकरपछि भारतीय पुरुष राष्ट्रिय टोलीमा छनोट हुने सबैभन्दा कम उमेरका खेलाडीमध्ये एक बन्नेछन्।
सूर्यवंशीले हालै सम्पन्न आईपीएल सिजनमा विस्फोटक प्रदर्शन गर्दै २३७.३० को स्ट्राइक रेटमा ७७६ रन बनाएका थिए। यही प्रदर्शनका आधारमा उनलाई राष्ट्रिय टोलीमा अवसर दिइएको हो।
राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्नुअघि सूर्यवंशीले जुन ९ देखि २१ सम्म श्रीलङ्कामा आयोजना हुने ‘इन्डिया ए’ को त्रिकोणात्मक शृङ्खलामा सहभागिता जनाउने कार्यक्रम रहेको छ। उक्त प्रतियोगितामा अफगानिस्तानको टोली पनि सहभागी हुनेछ।