काठमाडौँ । भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको महत्वपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको सुरुआती ११ सार्वजनिक गरिएको छ। श्रीलङ्काविरुद्धको खेलका लागि मुख्य प्रशिक्षक नवीन न्यौपानेले कप्तान रेनुका नगरकोटे नेतृत्वको टोली घोषणा गरेका हुन्।
नेपाली टोलीमा गोलरक्षकको जिम्मेवारी अञ्जना रानामगरले सम्हाल्नेछिन् भने कप्तानको जिम्मेवारी रेनुका नगरकोटेले गर्नेछिन्। सुरुआती ११ मा अञ्जना र रेनुकासँगै विमला विके, हिराकुमारी भुजेल, सरु लिम्बू, गीता राना, रेखा पौडेल, मीना देउवा, प्रतीक्षा चौधरी, रश्मिकुमारी घिसिङ र दीपा शाही रहेका छन्।
त्यस्तै वैकल्पिक खेलाडीमा उषा नाथ, पूजा राना, समीक्षा घिमिरे, सविना चौधरी, अनिता केसी, पूर्णिमा राई, अनिता बस्नेत, अञ्जिला तुम्बापो सुब्बा, बिर्सना चौधरी, निशा ठोकर र अनिता लाम्जेल समावेश छन्।
टोलीकी प्रमुख खेलाडी सावित्रा भण्डारी चोटका कारण अनुपस्थित रहेकी छन् भने प्रिती राई पनि आजको खेलका लागि उपलब्ध छैनन्। भुटानविरुद्ध १-० को जित निकाल्दै प्रतियोगितामा राम्रो सुरुआत गरेको नेपाल आज श्रीलङ्काविरुद्ध दोस्रो जितसहित सेमिफाइनल यात्रा सुनिश्चित गर्ने लक्ष्यका साथ मैदान उत्रिँदैछ।
इतिहासका आधारमा नेपालले श्रीलङ्काविरुद्ध सधैँ राम्रो प्रदर्शन गर्दै आएको छ। पछिल्लो भेटमा समेत नेपाल विजयी भएको थियो, जसले आजको खेलमा पनि नेपाली टोलीलाई आत्मविश्वास दिएको छ। समूह ‘ए’ मा नेपाल, भुटान र श्रीलङ्का रहेका छन्। हाल भुटान र नेपाल दुवैको तीन-तीन अंक भए पनि गोलअन्तरका आधारमा भुटान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ। श्रीलङ्का अंकविहीन रहेको छ।
समूह ‘बी’ मा आयोजक भारत, बङ्गलादेश र माल्दिभ्स रहेका छन्। दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। नेपाल र श्रीलङ्काबीचको खेल स्थानीय समयअनुसार साँझ ४:३० बजे सुरु हुनेछ।