काठमाडौं । महिला टी-२० एसियाली खेलकुद छनोट प्रतियोगिताको सेमिफाइनलमा मलेसियासँग २ विकेटले पराजित हुँदै नेपाल प्रत्यक्ष छनोटको अवसरबाट वञ्चित भएको छ। अब नेपालले जापानमा हुने २०औं एसियाली खेलकुदमा स्थान बनाउन चीनविरुद्धको तेस्रो स्थानको खेल जित्नै पर्ने दबाबमा परेको छ।
मलेसियाको वायुमास ओभल स्टेडियममा भएको खेलमा नेपालले दिएको १२७ रनको लक्ष्य मलेसियाले १८.,४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो। जितसँगै मलेसिया एसियाली खेलकुदका लागि छनोट हुँदा नेपालले अन्तिम अवसरका रूपमा तेस्रो स्थानको खेल खेल्ने भएको छ।
मलेसियाको जितमा एल्सा हन्टरले विस्फोटक ब्याटिङ गर्दै २४ बलमा ४८ रनको योगदान दिइन्। उनले १० चौका र एक छक्का प्रहार गर्दै नेपालको बलिङ आक्रमणमाथि दबाब सिर्जना गरेकी थिइन्। आइना हमिजाले १८ रन जोड्दै दोस्रो विकेटका लागि ७० रनको महत्वपूर्ण साझेदारी गरेकी थिइन्।
एक समय सहज जिततर्फ अघि बढेको मलेसियाले ११७ रनमा ८ विकेट गुमाएपछि खेल रोमाञ्चक बनेको थियो। तर वान जुलिया र नुर क्याल्साले संयमित ब्याटिङ गर्दै टोलीलाई लक्ष्यसम्म पुर्याए। नेपालका लागि रिया शर्माले उत्कृष्ट बलिङ गर्दै ३ विकेट हात पारिन् भने रुबिना क्षेत्री र मनिषा उपाध्यायले समान २-२ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १२६ रन बनाएको थियो। सुरुआतमै शीर्ष क्रमका ब्याटरहरू सस्तोमा आउट भएपछि नेपाल दबाबमा परेको थियो। कप्तान इन्दु बर्माले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै अविजित ४६ रन बनाइन् भने कविता कुँवरले अन्तिम ओभरहरूमा आक्रामक खेल प्रदर्शन गर्दै १५ बलमा ३३ रन जोडिन्। दुवै खेलाडीबीच भएको ५१ रनको साझेदारीले नेपाललाई सम्मानजनक स्कोरसम्म पुर्याएको थियो।
समूह चरणमा चीन र इन्डोनेसियालाई पराजित गर्दै सेमिफाइनल पुगेको नेपाल अब तेस्रो स्थानका लागि चीनसँग भिड्नेछ। उक्त खेलको विजेता टोलीले पनि एसियाली खेलकुदमा स्थान सुरक्षित गर्ने भएकाले नेपालका लागि आगामी खेल निर्णायक बन्नेछ।