काठमाडौँ । कप्तान शुभमन गिलको शानदार शतकको मद्दतमा गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरातले उपाधि नजिकको यात्रा तय गरेको हो।
अब आइतबार अहमदाबादमा हुने फाइनलमा गुजरातले रोयल च्यालेन्जर्स बैंगलुरू (आरसीबी) सँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। राजस्थानले दिएको २१५ रनको विशाल लक्ष्य गुजरातले १८.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो। आईपीएल इतिहासमा गुजरातको यो सबैभन्दा ठूलो सफल रन चेज हो।
गुजरातको जितका प्रमुख नायक कप्तान शुभमन गिल बने। उनले ५३ बलमा १५ चौका र ३ छक्काको सहयोगमा १०४ रनको उत्कृष्ट शतकीय इनिङ्स खेले। साई सुदर्शनले ३२ बलमा ५८ रन बनाउँदै गिललाई बलियो साथ दिए। दुवैले पहिलो विकेटका लागि १६७ रनको विशाल साझेदारी गर्दै राजस्थानलाई खेलबाट लगभग बाहिर पारे।
यसअघि टस हारेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २१४ रन बनाएको थियो। युवा ब्याटर वैभव सूर्यवंशीले ४७ बलमा ९६ रनको विस्फोटक इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले ८ चौका र ७ छक्का प्रहार गरेका थिए। सूर्यवंशी शतकबाट मात्र ४ रनले चुके पनि उनले आईपीएलमा सबैभन्दा कम बलमा १,००० रन पूरा गर्ने नयाँ कीर्तिमान बनाए। उनले ४४० बलमै यो उपलब्धि हासिल गर्दै आन्द्रे रसेलको ५४५ बलको पुरानो रेकर्ड तोडे।
राजस्थानका लागि रविन्द्र जडेजाले अविजित ४५ रन बनाउँदा डोनोभान फरेराले ११ बलमा अविजित ३८ रनको आक्रामक इनिङ्स खेले। दुवैले अन्तिम ओभरहरूमा तीव्र रन जोड्दै टोलीलाई २०० रन पार गराएका थिए। गुजरातका लागि कागिसो रबाडा र जेसन होल्डरले समान २-२ विकेट लिए भने मोहम्मद सिराज र प्रसिद्ध कृष्णले एक-एक विकेट हात पारे।
अब सबैको ध्यान आइतबार हुने फाइनलमा केन्द्रित भएको छ, जहाँ गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलुरूबीच आईपीएल उपाधिका लागि रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।