काठमाडौं । निर्देशक डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’को टिजर सार्वजनिक गरिएको छ । आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मको टिजरले महिलाले समाज र परिवारभित्र भोग्नुपरेको पीडा, हिंसा र मानसिक दबाबको कथा प्रस्तुत गरेको छ।
सार्वजनिक टिजरमा पढ्ने चाहना हुँदाहुँदै परिवारको दबाबमा विवाह गर्न बाध्य भएकी एक युवतीको संघर्षलाई देखाइएको छ। विवाहपछि श्रीमानको घरमा उनले सहनुपरेको शारीरिक तथा मानसिक यातनालाई टिजरले भावुक ढंगले प्रस्तुत गरेको छ।
टिजरको केन्द्रमा अभिनेत्री सिम्रन खड्का छिन्। अजिटम (स्नायु विकाससम्बन्धी समस्या) भएका युवकसँग विवाह गरेपछि उनले भोग्नुपरेको हिंसा, दुर्व्यवहार र पारिवारिक दबाबलाई मर्मस्पर्शी दृश्यमार्फत देखाइएको छ। घरमा आमाले भने ‘राम्रो परिवारमा बिहे भएको’ भन्दै सम्झाइरहेको दृश्यले नेपाली समाजको यथार्थ झल्काउँछ।
फिल्ममा सिम्रन खड्कासँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, अरुण क्षेत्री, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, अंशु ओली, प्रिन्स नेपाली र राजेन्द्र नेपालीलगायत कलाकारहरूको अभिनय रहेको छ।वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको कथामा आधारित फिल्म भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण गरिएको हो। फिल्मका निर्मातामा सुमन गिरी र डा। कपिल रिजाल रहेका छन् भने सरला रिजाल कार्यकारी निर्माता हुन्।
फिल्ममा हरि हुमागाईंको छायांकन रहेको छ भने पटकथा तथा संवाद कपिल रिजाल, निश्चल कुँवर, अभिमन्यू निरवी, शिव शर्मा, निरज नेपाल र गिरिराज घिमिरेले तयार पारेका हुन्।