काठमाडौं । आगामी एसियाली खेलकुदको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले बिहीबार इन्डोनेसियासँग महत्वपूर्ण खेल खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल मलेसियाको क्वालालम्पुरमा नेपाली समयअनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ ।
जारी प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपालले चीनलाई १९ रनले हराउँदै सुखद सुरुआत गरेको थियो । आजको खेलमा जित निकाल्न सके नेपाली टोली सहज रूपमा सेमिफाइनलमा पुग्नेछ । यससँगै आगामी एसियाली खेलकुद खेल्ने नेपालको सम्भावना पनि थप बलियो बन्नेछ । छनोट प्रतियोगितामा कुल ६ टोली सहभागी छन् । समूह ‘ए’मा थाइल्यान्ड, मलेसिया र हङकङ रहेका छन् भने समूह ‘बी’मा नेपाल, चीन र इन्डोनेसिया छन् । प्रारम्भिक चरणपछि दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने प्रावधान रहेको छ ।
यस छनोट प्रतियोगिताबाट फाइनल पुग्ने दुई टोली र तेस्रो स्थान हासिल गर्ने टोलीले जापानमा हुने २०औँ एसियाली खेलकुदमा स्थान बनाउनेछन् । महिला क्रिकेटतर्फ कुल ९ टोलीको सहभागिता रहनेछ । आयोजक जापानसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान यसअघि नै छनोट भइसकेका छन् । यसअघि चीनविरुद्धको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १२५ रन बनाएको थियो । जवाफमा चीनले निर्धारित ओभरमा पाँच विकेट गुमाएर १०६ रन मात्रै बनाउन सक्यो ।
नेपालको जितमा पूजा महतोले उत्कृष्ट अर्धशतकीय पारी खेलिन् । उनले ६३ रन बनाउँदै टोलीको स्कोर उकासेकी थिइन् । महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा २० वर्षीया पूजाको यो चौथो अर्धशतक थियो । रुवी पोद्दारले पनि अविजित २२ रनको योगदान दिएकी थिइन् । बलिङतर्फ नेपालका खेलाडीले कसिलो प्रदर्शन गरेका थिए । रिया शर्माले दुई विकेट लिँदा मनिषा उपाध्याय, कविता कुँवर र पूजा महतोले समान एक-एक विकेट हात पारेका थिए ।
हाल समूह ‘बी’को अंक तालिकामा नेपाल एक खेलबाट दुई अंकसहित शीर्ष स्थानमा छ । चीन दुई खेलबाट दुई अंकसहित दोस्रो स्थानमा रहेको छ भने पहिलो खेलमा पराजित इन्डोनेसिया पुछारमा छ ।
आगामी एसियाली खेलकुद सन् २०२६ सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानमा आयोजना हुँदैछ ।